काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले २०८३ साल भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदिमा आएको बाढी पिडितको राहत उद्दार र पुननिर्माणको लागि संस्थाका सदस्यबाट जम्मा गरी ५ करोड ५ लाख आर्थिक सहयोग गर्ने भएको छ । इप्पानको २०६ औ आकस्मिक बैठक तथा सल्लाहकारसहितको संयुक्त बैठकले भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा चितवन, तनहुँ लगायत जिल्लामा दिवंगत भएका नागरिकप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारमा हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूप्रति शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
बैठकले बाढीबाट सञ्चालनमा रहेका र निर्माणाधीन धेरै विद्युत आयोजनाहरुमा पुगेको क्षतिप्रति दुःख व्यक्त गर्नुका साथै ज्यान गुमाएका कर्मचारी र मजदूरहरुप्रति श्रद्धाञ्जली र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको पनि कामना गरेको छ । साथै ती विद्युत आयोजनाहरुको पुर्ननिर्माण र पुर्नस्थापनामा नेपाल सरकारसँग समन्वय गरी आवश्यक सहायता गर्ने भएको छ ।
इप्पानले गर्ने आर्थिक सहयोग चेक हस्तान्तरण गरिने गरी निर्णय भएको इप्पान अध्यक्ष मोहन कुमार डाँगीले जानकारी दिए । ‘ऊर्जा क्षेत्र नेपालको समृद्धिसँग मात्र होइन, नेपाली जनताको सुख–दुःखसँग पनि जोडिएको क्षेत्र हो । विपद्को समयमा सम्पूर्ण सदस्य कम्पनीहरू एकजुट हुँदा त्यसले पीडित परिवारको जीवनमा ठूलो राहत र आशाको सञ्चार गर्न सक्छ ।–उनले बैठकपछि भने–‘ यस मानवीय अभियानमा इप्पानका सम्पूर्ण सदस्य कम्पनीहरूको सक्रिय र उदारपूर्वक सहयोग गर्न अनुरोध गर्दछौ ।




