काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित रसुवा र नुवाकोटमा विद्युत् पूर्वाधारको मर्मत तथा पुनःस्थापना र उद्धार कार्यलाई तीव्रता दिइएको छ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका अनुसार बाढीपछि जलविद्युत् आयोजना, विद्युत् संरचना तथा प्रभावित कामदार र समुदायको उद्धार, राहत तथा विद्युत् आपूर्ति पुनःस्थापनालाई उच्च प्राथमिकतामा राखिएको छ।
मन्त्रालयका सहसचिव एवम् प्रवक्ता मोहन कुमार शाक्यका अनुसार माथिल्लो त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको सफल उद्धार गरिएको छ। उद्धार हुनेमा मेकानिकल फोरम्यान सञ्जय शाह र मेकानिकल सुपरभाइजर कविर महर्जन रहेका छन्।
उद्धार गरिएका दुवै कर्मचारीको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरूको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको आईसीयूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।
यस्तै, नेपाल विद्युत् प्राधिकरणका इलेक्ट्रिकल सुपरभाइजर सञ्जोग केसीसहित नेपाली सेनाको उद्धार टोली माथिल्लो त्रिशूली–३ ए को पावर हाउस क्षेत्रमा प्रवेश गरी अन्य सम्पर्कविहीन जनशक्तिको खोजी तथा उद्धारमा जुटिरहेको छ।
मन्त्रालयका अनुसार ह्याप्पी इन्जी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गरेको छ। सहयोग रकम ग्रहण गर्दै ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रीले विपद्को कठिन परिस्थितिमा आर्थिक सहयोगसँगै नैतिक, भौतिक र प्राविधिक सहयोगको पनि आवश्यकता रहेको बताएका छन्।
बाढीबाट अवरुद्ध रसुवाको उत्तरगया गाउँपालिका–२ र ३ को विद्युत् सेवा आवश्यक मर्मत तथा पुनःस्थापनापछि पुनः सञ्चालनमा ल्याइएको छ। विद्युत् सेवा अवरुद्ध भएका अन्य क्षेत्रमा पनि स्थानीय प्राविधिक जनशक्ति र आवश्यक उपकरण परिचालन गरी आपूर्ति नियमित बनाउने काम भइरहेको मन्त्रालयले जनाएको छ।
तत्काल विद्युत् सेवा उपलब्ध गराउन नसकिएका क्षेत्रमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत सोलार प्रणाली वितरण गरी विद्युत् सेवा उपलब्ध गराइएको छ।
यसैबीच, जलविद्युत् आयोजनाका सुरुङमा फसेका कामदार तथा कर्मचारीको खोज तथा उद्धारका लागि नेपाली सेना, भारतीय सेना, चिनियाँ तथा कोरियाली विज्ञ र आयोजनाका इन्जिनियरहरूको संयुक्त टोली परिचालन गरिएको छ।
उद्धार टोलीले सुरुङभित्र विभिन्न स्थानमा ड्रिलिङ, ब्लास्टिङ, होल निर्माण तथा लेदो हटाउने काम गरिरहेको छ। क्षतिग्रस्त तथा अवरुद्ध सुरुङ खोल्न एक्स्काभेटर, ब्याक लोडर, बोबक्याटलगायतका उपकरणसमेत परिचालन गरी खोज तथा उद्धार अभियानलाई तीव्रता दिइएको मन्त्रालयले जनाएको छ।



