CLI
Global College

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

काठमाडौं । गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा अवरुद्ध भएको छ । सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिका-८ सुवाकाँध, वीरेखोला, नुनेपानी क्षेत्रमा पहिरोले करिब ३२ वटा विद्युत्का खम्बा ढालेपछि विद्युत् आपूर्ति बन्द भएको हो ।

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बाजुराका निमित्त प्रमुख लोकराज जोशीकाअनुसार सुवाकाँधमा सडकमाथिबाट ठूलो पहिरो खस्दा सात र वीरेखोला क्षेत्रमा २५ वटा खम्बा ढलेका छन् । गएराति करिब ९ः०० बजेदेखि जिल्लाभर विद्युत् सेवा बन्द भएकामा हालसम्म सञ्चालन नभएको उनले बताए। अवरुद्ध विद्युत् सेवा सञ्चालन आज दिनभर प्राविधिकको टोली खटिए वर्षा सुरु भएपछि कार्यक्षेत्रबाट फर्किएका जोशीले बताए।

अछामबाट जिल्ला सदरमुकाम मार्तडीसम्म ३३ केभी राष्ट्रिय प्रसारण लाइनको विद्युत् सञ्चालनमा छ। जिल्लामा शनिबारदेखि लगातार परेको वर्षाका कारण साँफे-मार्तडी सकडखण्डका विभिन्न स्थानमा पहिरो जाँदा विद्युत्का खम्बा तथा प्रसारण लाइनमा क्षति पुगेपछि जिल्लाभर विद्युत् आपूर्ति बन्द भएको छ।

विद्युत् सेवा बन्द हुँदा सदरमुकाम मार्तडीसहित अन्य क्षेत्रका घरपरिवार अँध्यारोमा बस्न बाध्य भएका छन् भने विद्युत्बाट सञ्चालन हुने सम्पूर्ण कामकाज प्रभावित भएका छन्। अविरल वर्षाका कारण बाजुरामा साँफे-मार्तडी सडकखण्डसमेत ठाउँठाउँमा पहिरो खसेर अवरुद्ध भएको छ भने पहिरो पन्छ्याएर सञ्चालन गरेपनि पुनःभारी वर्षा हुन थालेपछि समस्या हुँदा ढिलाइ भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Leave Your Comment

Related News