काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का पूर्वअध्यक्ष चन्द्र ढकालले भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै विपद्बाट प्रभावित उद्योगी–व्यवसायीलाई निजी क्षेत्रले निरन्तर साथ दिने बताएका छन्।
बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ र गोरखालगायतका क्षेत्रमा पुगेर स्थलगत अवस्थाको अवलोकन गरेपछि ढकालले बाढीले पुर्याएको क्षति अत्यन्तै हृदयविदारक रहेको बताएका हुन्।
उनले बाढीमा परी ज्यान गुमाउने नागरिक तथा कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
स्थलगत निरीक्षणका क्रममा सयौँ परिवारका घर–आँगना बगरमा परिणत भएको, सडक सञ्जाल क्षतविक्षत भएको तथा जलविद्युत् आयोजना, विद्यालय, अस्पताल, पसल र गोदाममा ठूलो क्षति पुगेको उनले बताए।
बाढीबाट आफैँ घर तथा व्यवसाय गुमाएका जिल्ला उद्योग वाणिज्य संघका पदाधिकारी तथा व्यवसायीहरू समेत उद्धार र राहतमा निरन्तर खटिरहेको देख्दा आफू भावुक भएको ढकालले उल्लेख गरेका छन्।
‘उहाँहरूको यो त्याग, समर्पण र साहस अतुलनीय छ। उहाँहरूको पीडा हामी सबैको साझा पीडा हो,’ ढकालले भनेका छन्।
विपद्को पहिलो दिनदेखि नै निजी क्षेत्रले उद्धार, राहत, प्राथमिक उपचार तथा अत्यावश्यक सेवा सञ्चालनका लागि सहयोग परिचालन गरिरहेको भन्दै उनले आगामी दिनमा समेत सहयोग निरन्तर रहने प्रतिबद्धता जनाएका छन्।
ढकालले बिदुर नगरपालिकाका नगरप्रमुख, नुवाकोट उद्योग वाणिज्य संघका पदाधिकारी तथा स्थानीय उद्योगी–व्यवसायीसँग प्रत्यक्ष भेट गरी उनीहरूका समस्या र मागबारे छलफल गरेका थिए।
छलफलका क्रममा उनले विपद्का कारण भौतिक संरचना ध्वस्त भए पनि निजी क्षेत्रको आत्मबल र धैर्य कमजोर नभएको बताए। २०७२ सालको भूकम्प र कोरोना महामारीपछि निजी क्षेत्र पुनः उठ्न सफल भएको स्मरण गर्दै उनले अहिलेको संकटबाट पनि निजी क्षेत्र अझ बलियो भएर उठ्ने विश्वास व्यक्त गरे।
‘हाम्रा इँटा र ढुङ्गाका संरचना भत्किए पनि हाम्रो भित्री आँट र धैर्य कहिल्यै भत्किएको छैन,’ उनले भनेका छन्।
ढकालले नेपाल–चीन जोड्ने प्रमुख उत्तरी व्यापारिक मार्ग अवरुद्ध हुँदा स्थानीय जनजीवनसँगै मुलुकको आपूर्ति व्यवस्थामा समेत गम्भीर असर परेको बताए। विशेषगरी आसन्न दसैँ–तिहारको समयमा आपूर्ति व्यवस्थामा थप समस्या आउन नदिन सरकारले तत्काल काम गर्नुपर्ने उनको भनाइ छ।
उनले बाढीबाट भएको क्षतिको यथार्थ लगत तत्काल संकलन गरी अवरुद्ध सडक, अस्थायी पुल, विद्युत् तथा सञ्चार सम्पर्क यथाशीघ्र सञ्चालनमा ल्याउन राज्यका सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
स्थानीय व्यवसायीहरूले राखेका मागको नीतिगत समाधान तथा लविङका लागि काठमाडौं फर्किएलगत्तै सम्बन्धित निकायसँग पहल गर्ने प्रतिबद्धता समेत ढकालले जनाएका छन्।
उनले बाढी प्रभावित व्यवसायी तथा स्थानीयवासीलाई धैर्य राख्न आग्रह गर्दै सिंगो निजी क्षेत्र उनीहरूको साथमा रहेको बताए।
‘प्रिय साथीहरू, तपाईंहरू धैर्य राख्नुहोस्, मन कमजोर नबनाउनुहोस्। सिंगो निजी क्षेत्र तपाईंहरूको साथमा छ। हामी यो विपद्लाई जितेर फेरि नयाँ आशा र उत्साहका साथ उठ्नेछौँ,’ ढकालले भनेका छन्।




