CLI
Global College

बुटवलमा हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी शुरू,अटोमोबाइल्ससहित १६ वटा पेभेलियन रहने

बुटवल । ‘स्वाधीन अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगीकरणका तथा व्यापार विविधीकरण’ भन्ने मूल नारासहित उद्योग व्यापार संघ बुटवलले राष्ट्रिय औद्योगिक व्यापार मेला एवं कृषि तथा पर्यटन महोत्सवको तयारी शुरू गरेको छ ।

आगामी पुस ३ गतेदेखि १६ गतेसम्म बुटवल मण्डपस्थित अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा सञ्चालन हुने मेलालाई व्यवस्थित बनाउन आयोजकले औपचारिक रूपमा तयारी शुरू गरेको हो ।

मेला तयारीअन्तर्गत शनिबार प्रदर्शनीस्थल अगाडि मेलाको साइनबोर्ड र लोगो अनावरण तथा मेला सम्पन्न गर्न गठित २९ वटा उपसमिति संयोजकको नामावली सार्वजनिक गरिएको छ ।

मेला आयोजक संघका अध्यक्ष लोकनाथ पन्थीले मेला स्थल व्यवस्थापन, स्टल तथा पेभेलियन निर्माण, स्टल धनी व्यवसायीको सहभागिता, सुरक्षा, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमलगायतका तयारीलाई अघि बढाइएको बताए ।

स्वदेशी उत्पादन तथा सेवाको प्रदर्शनी र बिक्रीलाई प्राथमिकता दिएको मेलाले औद्योगिक विकास, उद्यमशीलता प्रवर्द्धन, स्वदेशी उत्पादनको बजारीकरण र आर्थिक गतिविधि विस्तार गर्न टेवा पुर्‍याउने अध्यक्ष पन्थीले बताए ।

‘मेलाले स्थानीय अर्थतन्त्र चलायमान बनाउनुका साथै बुटवल र रुपन्देहीको औद्योगिक तथा व्यावसायिक वातावरण थप सुदृढ बनाउन भूमिका खेल्नेछ’, अध्यक्ष पन्थीले भने, ‘मेलामार्फत् स्वदेशी उत्पादनको बजारीकरण र स्वदेशी वस्तुको उपभोग प्रवर्द्धन हुने छ ।’

त्यसैगरी, आयातलाई निरुत्साहित गर्दै निर्यात प्रवर्द्धन गर्ने र नेपाली उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन सहयोग गर्ने उद्देश्यसमेत मेलाले लिएको अध्यक्ष पन्थीले बताए ।

स्वदेश तथा विदेशका उद्योगी, व्यवसायी, कृषक, लगानीकर्ता तथा उपभोक्ताको सहभागिताले स्थानीय तथा राष्ट्रिय अर्थतन्त्र सुदृढीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकले लिएको छ ।

मेलालाई व्यवस्थित रूपमा सम्पन्न गर्न २९ वटा उपसमिति गठन गरी तयारीका काम अघि बढाइएको अध्यक्ष पन्थीले जानकारी दिए । मेला समग्र रुपन्देहीवासीको साझा कार्यक्रम भएकाले सबैको साथ, सहयोग तथा रचनात्मक सल्लाह–सुझावको अपेक्षा गरिएको उनले बताए ।

मेलामा ४५० देखि ५०० वटासम्म स्टल रहने संघका वरिष्ठ उपाध्यक्ष एवं स्टल दर्ता उपसमिति संयोजक पदम जीसीले बताए । स्वदेशी उत्पादन, स्थानीय र महिला उद्यमीका स्टललाई प्राथमिकता दिइने मेलामा हालसम्म करिब एक सय वटा स्टल बुकिङ भइसकेका जीसीले बताए ।

मेलामा अटोमोबाइल्ससहित १६ वटा पेभेलियन रहनेछन् । चार पांग्रे विद्युतीय गाडीदेखि कृषि, पर्यटन, हस्तकला, आईटी, स्वास्थ्य, शिक्षा,बैंक तथा निर्माण सामग्रीसम्मका उत्पादन र सेवाका स्टललाई मेलामा समेटिएको उनले बताए ।

जीसीका अनुसार मेलामा अटोमोबाइल, होटल तथा रेष्टुरेन्ट, अन्तर्राष्ट्रिय स्टल, फर्निचर तथा फर्निसिङ, तयारी पोशाक तथा गार्मेन्ट, वित्तीय संस्था, दैनिक उपभोग्य वस्तु, बेकरी, डेरी तथा आइसक्रिम, गिफ्ट तथा खेलौना र जुत्ता–चप्पलका पेभेलियन रहनेछन् ।

त्यसैगरी, आईटी तथा इलेक्ट्रोनिक्स, स्वास्थ्य, शैक्षिक संस्था, जडीबुटी, हस्तकला, कुटिर उद्योग, कृषि तथा पशुपालन, जडीबुटी, घरजग्गा तथा निर्माण सामग्री, फर्निचर तथा फर्निसिङ तथा अपाङ्गता भएका व्यक्ति र एकल महिलाद्वारा उत्पादित वस्तुका उत्पादनलाई समेत मेलामा प्रदर्शनी तथा बिक्रीका लागि प्रचार प्रसार उपसमिति संयोजक एवं संघका सचिव सौरभ भुसालले जानकारी दिए ।

मेलामा लुम्बिनी प्रदेशका पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन पर्यटन गोष्ठी,उत्पादक र उपभोक्ताबीच सम्बन्ध अभिवृद्धि, नेपाली कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन तथा कृषि पेशालाई व्यवसायीकरण गर्न उत्प्रेरित गर्ने उद्देश्यले विभिन्न गतिविधि सञ्चालन गरिने संघका महासचिव विजय आचार्यले बताए ।

मेलामा सूचना प्रविधिसम्बन्धी जानकारी, पर्यटन, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा अवसरको खोजी, पर्यटन प्रवर्द्धनसम्बन्धी गोष्ठी तथा युवा उद्यमसम्बन्धी अन्तरक्रिया समेत आयोजना गरिने महासचिव आचार्यले बताए ।

मेलाका आकर्षणका रूपमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, स्थानीय गीत तथा नृत्य प्रतियोगिता, विद्यालयस्तरीय नृत्य प्रतियोगिता र विविध सांस्कृतिक कार्यक्रम रहनेछन् ।

मेलामै योग शिविर, रक्तदान, साँझ भजन–कीर्तन तथा आरती, शिव ताण्डव प्रदर्शन, फिस टनेल र जलपरी तथा टिकटक प्रतियोगितासमेत मेलाका आकर्षणका रूपमा रहने आचार्यले जानकारी दिए ।

१४ दिनसम्म सञ्चालन हुने मेलामा करिब ५० करोड रूपैयाँ बराबरको आर्थिक कारोबार र ८ लाख दर्शकलाई अवलोकन गराउने लक्ष्य राखिएको गर्ने लक्ष्य राखिएको संघका कोषाध्यक्ष दिलीप शर्माले जानकारी दिए ।

Leave Your Comment

Related News