RE
Global College

माघ ३ देखि ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने

काठमाडौं । नेपालको ऊर्जा क्षेत्रको विकास, लगानी, प्रविधि र नवप्रवर्तनलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने भएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र भिजन इनोभेसन प्रालिको संयुक्त आयोजनामा आगामी माघ ३ देखि ५ गतेसम्म (जनवरी १७ देखि १९, २०२७) काठमाडौंमा एक्स्पो आयोजना गर्न लागिएको हो ।

‘उत्थानशील ऊर्जा, समृद्ध नेपाल’ भन्ने नारासहित आयोजना हुने एक्स्पोको यो पाँचौं संस्करण हो । यसअघि सन् २०१७, २०१८, २०२२ र २०२४ मा एक्स्पोका संस्करण आयोजना भएका थिए ।

नेपालको विद्युत् उत्पादन क्षमता करिब ४ हजार ३०० मेगावाट पुगेको र सरकारले सन् २०३५ सम्म ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको सन्दर्भमा एक्स्पो आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । विद्युत् उत्पादनसँगै घरेलु खपत वृद्धि, औद्योगिक विकास, विद्युतीय सवारी, नवीकरणीय ऊर्जा र भारत तथा बंगलादेशसँगको अन्तरदेशीय विद्युत् व्यापारलाई समेत एक्स्पोले जोड दिने बताइएको छ ।

आयोजकका अनुसार ऊर्जा क्षेत्रमा जलवायु परिवर्तनका कारण बढिरहेको जोखिमलाई समेत ध्यानमा राख्दै सुरक्षित, दिगो र उत्थानशील ऊर्जा पूर्वाधार निर्माणबारे एक्स्पोमा छलफल हुनेछ । जलविद्युत्का साथै सौर्य, वायु, बायोग्यास तथा बायोमास, फोहोरबाट ऊर्जा, ऊर्जा भण्डारण, हरित हाइड्रोजन, विद्युतीय सवारी, डिजिटल ऊर्जा, आर्टिफिसियल इन्टेलिजेन्स तथा जलवायु प्रविधिलाई समेत एक्स्पोमा समेटिनेछ ।

बीटुबी बैठकदेखि ग्रीन इनर्जी कन्फरेन्ससम्म

एक्स्पोका प्रमुख आकर्षणमा बीटुबी बिजनेस मिटिङ, हिमालयन ग्रीन इनर्जी कन्फरेन्स, अन्तर्राष्ट्रिय कन्ट्री प्याभिलियन, ग्रीन इनर्जी नलेज हब, आयोजना स्थल भ्रमण तथा प्रत्यक्ष प्रविधि प्रदर्शन रहनेछन् ।

यस्तै, स्टार्टअप हब, ऊर्जा उत्पादन तथा सेवासम्बन्धी प्रतिस्पर्धा, हाइड्रो–कन शो, ईभी र्‍याली तथा गाला नेटवर्किङ डिनरसमेत आयोजना गरिने आयोजकले जनाएको छ ।

एक्स्पोमा टर्बाइन, जेनेरेटर, सोलार पीभी, इन्भर्टर, ब्याट्री तथा ऊर्जा भण्डारण प्रणाली, ट्रान्सफर्मर, स्विचगियर, प्रसारण तथा वितरण प्रविधि, ग्रिड प्रविधि, स्वचालन तथा स्मार्ट ऊर्जा समाधानलगायतका उत्पादन तथा प्रविधि प्रदर्शन गरिनेछ ।

विद्यार्थी तथा नवप्रवर्तकले विकास गरेका ऊर्जा क्षेत्रसम्बन्धी नयाँ अवधारणा, वस्तु तथा सेवाको प्रतिस्पर्धासमेत एक्स्पोमा समावेश गरिनेछ ।

भारत, चीन, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटाली, स्वीडेन, बेलायत र ब्राजिललगायतका मुलुकका कम्पनी तथा सरोकारवालालाई सहभागी गराउने तयारी रहेको आयोजकले जनाएको छ ।

एक्स्पोमा सरकारी तथा नियामक निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ता, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, आयोजना विकासकर्ता, प्रविधि तथा उपकरण उत्पादक, आयातकर्ता, वितरक, परामर्शदाता, निर्माण व्यवसायी, विश्वविद्यालय, अनुसन्धान संस्था, कूटनीतिक नियोग, सञ्चारमाध्यम तथा ऊर्जा क्षेत्रका विज्ञहरूको सहभागिता रहनेछ ।

एक्स्पोमा १०० भन्दा बढी प्रदर्शनी स्टल रहने र तीन दिनमा ३० हजारभन्दा बढी अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरिएको छ । आयोजकका अनुसार एक्स्पोमा सहभागिता तथा स्टल बुकिङ खुला गरिएको छ ।

Leave Your Comment

Related News