काठमाडौं । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा निर्माण हुने २२.५ मेगावाट क्षमताको जाल्दीगाड जलविद्युत् आयोजनाका लागि ४ अर्ब ६० करोड रुपैयाँ लगानी जुटेको छ। आयोजनाको वित्तीय व्यवस्थापन राष्ट्रिय वाणिज्य बैंकको नेतृत्वमा नेपाल बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले गर्ने भएका छन्।
सांग्रिला हाइड्रोपावर प्रालिले प्रवर्द्धन गर्ने आयोजनामा तीन बैंकले संयुक्त रूपमा ३ अर्ब ३६ करोड रुपैयाँ ऋण लगानी गर्नेछन्। आयोजनामा प्रवर्द्धकहरूको १ अर्ब २३ करोड ७१ लाख रुपैयाँ इक्विटी लगानी रहनेछ।
आयोजनाको वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा सांग्रिला हाइड्रोपावरका अध्यक्ष खगेन्द्र न्यौपाने र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले हस्ताक्षर गरेका छन्। सम्झौता कार्यक्रममा नेपाल बैंक र निफ्राका प्रतिनिधिसमेत सहभागी थिए।
जाल्दीगाड नदीमा निर्माण हुने आयोजनाबाट वार्षिक १३३.४५ गिगावाट घण्टा विद्युत् उत्पादन हुने प्रक्षेपण गरिएको छ। आयोजनाको निर्माण अवधि ३३ महिना तोकिएको छ।
कम्पनीका अनुसार आयोजनाका लागि आवश्यक जग्गा खरिदलगायत अधिकांश पूर्वतयारीका काम सम्पन्न भइसकेका छन्। वित्तीय व्यवस्थापनसमेत पूरा भएकाले अब निर्माण कार्यलाई तीव्रता दिने तयारी छ।
सांग्रिला हाइड्रोपावरका प्रबन्ध सञ्चालक कृष्णप्रसाद घिमिरेले वित्तीय व्यवस्थापन पूरा भएसँगै आयोजनाको निर्माणलाई गति दिइने बताए।
गोरखामा आयोजना निर्माणको अनुभव
जाल्दीगाड आयोजना प्रवर्द्धन गर्ने समूहले यसअघि गोरखामा ४.५५ मेगावाट क्षमताको विकास हाइड्रोपावर आयोजना निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ। उक्त आयोजना निर्धारित समयभन्दा करिब ६ महिना अगावै निर्माण सम्पन्न गरिएको कम्पनीले जनाएको छ।
विकास हाइड्रोपावरले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासनसमेत गरिसकेको छ।
यही समूहले गोरखामा ४.६ मेगावाट क्षमताको बूढीगण्डकी हाइड्रोपावर आयोजना पनि निर्माण गरिरहेको छ। उक्त आयोजनाबाट आगामी ६ महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ।
यसअघि जलविद्युत् आयोजना निर्माणको अनुभव रहेको समूहले जाल्दीगाड आयोजना अघि बढाउन लागेको हो। वित्तीय व्यवस्थापन पूरा भएसँगै आयोजनाको निर्माण पूर्वनिर्धारित समयमै सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ।



