काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले घरेलु तथा साना उद्योगको प्रवद्र्धन, औद्योगिक सुरक्षासहित नयाँ उद्यमी उत्पादनका लागि नीतिगत सुधार गर्ने बताएका छन्।
नेपाल घरेलु तथा साना उद्योग महासंघको माइतीघरस्थित सचिवालयमा आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री मगरले नेपालमा करिब सात लाख साना तथा मझौला उद्योग सञ्चालनमा रहेको उल्लेख गर्दै स्थानीय कच्चा पदार्थको उपयोग, विदेशी मुद्रा आर्जन र युवा पलायन रोक्न यस्ता उद्योगको महत्वपूर्ण भूमिका रहेको बताए।
स्थानीय उत्पादनको बिक्री तथा प्रवद्र्धनका लागि हेटौंडामा ‘कोसेली घर’ निर्माण भइसकेको र जग्गा उपलब्ध भएका अन्य जिल्लामा पनि यसको विस्तार गरिने उनले बताए। महिला उद्यमीलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउनुका साथै जिल्लास्तरीय औद्योगिक प्रदर्शनीका लागि बजेट व्यवस्था गरिएको उनको भनाइ छ।
उद्योग स्थापना भएपछि वरपर बस्ती विकास हुँदा स्थानीय विरोधका कारण उद्योग स्थानान्तरण गर्नुपर्ने समस्या समाधान गर्न प्रदेश सरकारले छुट्टै कानुनी व्यवस्था गरेको पनि मुख्यमन्त्री मगरले बताए। प्रारम्भिक वातावरणीय परीक्षणलगायत आवश्यक प्रक्रिया पूरा गरी स्थापना भएका उद्योगलाई अनावश्यक स्थानान्तरण हुन नदिई सुरक्षा प्रदान गरिने उनले प्रतिबद्धता जनाए।
उद्योग सञ्चालनका लागि ब्याजदरमा स्थिरता आवश्यक रहेको भन्दै उनले विगतमा बैंकको ब्याजदर १४–१५ प्रतिशतसम्म पुगे पनि अहिले ६–७ प्रतिशतको हाराहारीमा आएको बताए। उद्योगीलाई सहज हुने गरी निश्चित ब्याजदर कायम गर्नुपर्ने उनको भनाइ छ।
व्यवसायीलाई अप्ठ्यारो पार्ने ऐन, नियमावली तथा कार्यविधि संशोधन गर्न प्रदेश सरकार तयार रहेको पनि मुख्यमन्त्री मगरले बताए।
महासंघकी अध्यक्ष शोभा गुरुङले उद्योग दर्ता तथा नवीकरण प्रक्रिया सरलीकरण, स्वदेशी उत्पादनको प्रवद्र्धन, प्रविधि हस्तान्तरण, महिला तथा युवा उद्यमशीलता र उद्योगमैत्री सेवा प्रणालीलाई प्राथमिकता दिन माग गरिन्।
सार्वजनिक निकायले खरिद गर्ने वस्तु तथा सेवामा कम्तीमा ३० प्रतिशत स्वदेशी साना तथा मझौला उद्योगका उत्पादन अनिवार्य गर्ने व्यवस्था गर्नुपर्ने सुझाव पनि उनले दिइन्।
गुरुङले साना तथा महिला उद्यमीका उत्पादनको बजारीकरणका लागि राष्ट्रिय निर्यात गृह तथा बागमती प्रदेश र स्थानीय तहमा ‘कोसेली गृह’ स्थापना गर्न माग गरिन्। औद्योगिक ग्राम निर्माणका लागि बजेट व्यवस्था गर्न र महासंघको सहभागितामा राष्ट्रियस्तरको बिक्रीकक्ष स्थापना गर्नुपर्ने उनको भनाइ छ।
महासंघको केन्द्रीय महिला उद्यमी समितिकी अध्यक्ष रिता अवालले स्थानीय उत्पादन, रोजगारी, महिला तथा युवा उद्यमशीलता र प्रदेशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका घरेलु तथा साना उद्योग पूँजीको अभाव, उच्च ब्याजदर, प्रविधि, बजार, कच्चा पदार्थ तथा आयातित वस्तुसँगको प्रतिस्पर्धाका कारण कठिन अवस्थामा रहेको बताइन्।
बागमती प्रदेश सरकारले घरेलु तथा साना उद्योग विकास कोष स्थापना गरी सहुलियतपूर्ण कर्जा तथा रुग्ण उद्योग पुनरुत्थानको व्यवस्था गर्नुपर्ने उनले बताइन्। महिला उद्यमीका लागि विशेष बजेट र कार्यक्रम, सरकारी खरिदमा स्थानीय उत्पादनलाई प्राथमिकता तथा ‘एक पालिका–एक विशेष उत्पादन’ कार्यक्रमलाई ब्रान्डिङ, बजार र निर्यातसँग जोड्नुपर्नेमा उनले जोड दिइन्।
कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष डम्बरप्रसाद रेग्मी, महासचिव विनोददेव पन्तलगायतले धारणा राखेका थिए। कार्यक्रममा महासंघका उपाध्यक्षहरू हरिहर थापा र मोहन कटुवाल तथा कोषाध्यक्ष वीरेन्द्र जत्तिलगायतको उपस्थिति थियो।



