काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा नेपालको उद्योग तथा व्यवसाय क्षेत्रमा ५ अर्ब १० करोड ७५ लाख रुपैयाँ बराबरको प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार असोज महिनामा कुल ९४ वटा उद्योग तथा व्यवसायका लागि सो बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको हो।
विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिना (साउनदेखि असोजसम्म) मा कुल ४२२ वटा उद्योग तथा व्यवसायका लागि १६ अर्ब २३ करोड १९ लाख रुपैयाँ एफडीआई प्रतिबद्धता आएको छ।
असोज महिनामा प्राप्त प्रतिबद्धतामध्ये स्वचालित (अटोमेटिक) प्रणालीमार्फत ८८ वटा उद्योग तथा व्यवसायका लागि ४ अर्ब ८४ करोड १५ लाख रुपैयाँ र साधारण प्रक्रियामार्फत ६ वटा उद्योगका लागि २६ करोड ६० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ।
समीक्षा अवधिमा सबैभन्दा बढी लगानी प्रतिबद्धता पर्यटन क्षेत्रमा रहेको छ। तीन महिनाको अवधिमा पर्यटन क्षेत्रका १०८ वटा उद्योगका लागि ६ अर्ब ८ करोड २८ लाख रुपैयाँ, सेवा क्षेत्रका ३३ वटाका लागि ३ अर्ब ५७ करोड ५४ लाख रुपैयाँ, उत्पादनमूलक क्षेत्रका २५ वटाका लागि १ अर्ब ६० करोड रुपैयाँ, सूचना प्रविधि क्षेत्रका २५२ वटाका लागि ९२ करोड ८३ लाख रुपैयाँ, ऊर्जा क्षेत्रका लागि २ करोड रुपैयाँ र कृषि क्षेत्रका लागि २ करोड रुपैयाँ लगानी प्रतिबद्धता प्राप्त भएको छ।
पूर्वाधार र खनिज क्षेत्रमा भने यस महिना पनि कुनै लगानी प्रतिबद्धता आएको छैन।


