काठमाडौं । धागो तथा कपडा उत्पादन गर्ने अग्रणी उद्योग रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (साउन- असोज ) को आफ्नो अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी र शुद्ध नाफा ,खुद नाफा दुवैमा राम्रो वृद्धि भएको छ।
कम्पनीले असोज मसान्तसम्ममा आफ्ना उत्पादनहरु धागो लगायतका सामान बिक्री गरेर कुल ३ अर्ब २० करोड २९ लाख ९२ हजार रुपैयाँ सञ्चालन आम्दानी आर्जन गरेको छ। गत आर्थिक वर्ष २०८२\८३ को पहिलो तीन महिनामा कम्पनीको यस्तो आम्दानी २ अर्ब ४८ करोड ७१ लाख २१ हजार रुपैयाँ मात्र रहेको थियो। यस हिसाबले हेर्दा अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीले यस वर्ष कुल बिक्री आम्दानीमा ७१ करोड ५८ लाख रुपैयाँभन्दा बढीको छ। सामान तयार पार्न लागेको उत्पादन खर्च बिक्री लागत २ अर्ब ६४ करोड १२ लाख रुपैयाँ कटाएपछि कम्पनीको कुल नाफा ५६ करोड १६ लाख ७९ हजार रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिमा २९ करोड ६२ लाख रुपैयाँ मात्र थियो।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ६२.९७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ४८१.५३ रुपैयाँ रहेको छ। त्यस्तै, कम्पनीको तरल अनुपात (करन्ट रेसियो) १.५७ रहेको छ। सेयर बजारको कारोबारतर्फ हेर्दा, समीक्षा अवधिमा रिलायन्स स्पिनिङ मिल्सको सेयरको अधिकतम मूल्य ३ हजार ०९१ रुपैयाँ र न्यूनतम मूल्य २ हजार २९०.१० रुपैयाँ कायम भएको थियो।
उद्योग सञ्चालनका क्रममा कम्पनीले केही आन्तरिक तथा बाह्य चुनौतीहरूको सामना गर्नुपरिरहेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्नु र सामान ओसारपसार ९ढुवानी० मा असहजता आउनु मुख्य समस्याका रूपमा रहेका छन्। यसका साथै, अन्तर्राष्ट्रिय स्तरमा हुनसक्ने नीतिगत परिवर्तन र अमेरिकी डलरको दाँजोमा नेपाली रुपैयाँ कमजोर भई विनिमय दरमा आउने उतारचढावले पनि कच्चा पदार्थ खरिदमा असर पार्ने चुनौती छ। तर, हालका लागि प्राकृतिक प्रकोप वा अन्तर्राष्ट्रिय युद्धका कारण व्यवसायमा कुनै ठूलो नकारात्मक असर नपरेको र आगामी दिनमा पनि कम्पनीको स्थायित्व कायम रहने कम्पनीको भनाइ छ।
असोज मसान्तसम्ममा कम्पनीको कुल चुक्ता पुँजी १ अर्ब ९० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७ अर्ब ४० करोड १० लाख रुपैयाँ सञ्चित छ। यसरी कम्पनीको कुल संस्थापक तथा सेयरधनी पुँजी ९ अर्ब ३० करोड १० लाख रुपैयाँ पुगेको छ। कम्पनीको कुल सम्पत्ति १४ अर्ब २६ करोड ५७ लाख रुपैयाँ रहेको छ। कम्पनीले आफ्नो दायित्व अनुसार बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको ऋणको सावाँ र ब्याज नियमित रूपमा भुक्तानी गरिरहेको र संस्थागत सुशासनका सबै नियमहरू पूर्ण रूपमा पालना गरिरहेको स्पष्ट पारेको छ।



