Global College

शान्तिवार्ताको तयारीबिच युक्रेनमाथि रुसी आक्रमण झन् तीव्र बन्यो, जाडोमा मानवीय संकटको जोखिम

काठमाडौं । आगामी साता अमेरिकाको मध्यस्थतामा रुस र युक्रेनबिच नयाँ चरणको शान्तिवार्ताको तयारी भइरहेका बेला रुसी आक्रमण झन् तीव्र बनेको छ । विश्लेषकहरूका अनुसार वार्ताको तयारी भइरहँदा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि सैन्य र आर्थिक दबाब बढाउने प्रयास गरिरहेका छन् । विशेषज्ञहरूका अनुसार यस वर्षको जाडोमा युक्रेनले सामना गर्नुपर्ने मानवीय संकट अघिल्ला वर्षहरूको तुलनामा निकै गम्भीर हुन सक्छ । किनकि रुसले ऊर्जा उत्पादन तथा वितरण प्रणालीलाई लक्षित गरेर आक्रमण गरिरहेको छ । यसका कारण लाखौँ मानिस विद्युत्, खानेपानी र घर तताउने सुविधाबाट वञ्चित हुन सक्ने अवस्था सिर्जना भएको छ ।

लन्डनस्थित थिंकट्यांक न्यु यूरेसियन स्ट्राटेजिज सेन्टरका अन्तर्राष्ट्रिय साझेदारी प्रमुख जोन लफका अनुसार रुसको हवाई आक्रमण अब स्पष्ट रूपमा युक्रेनको अर्थतन्त्र ध्वस्त पार्ने उद्देश्यबाट निर्देशित छ । उनी भन्छन्, ‘पुटिनले थप सैनिक परिचालन गरेर रुसले डोनबास क्षेत्रमा युद्ध जित्न नसक्ने निष्कर्ष निकालेका छन् । युक्रेनी सेनाले पछिल्लो गर्मीयाममा तुलनात्मक रूपमा राम्रो प्रदर्शन गरेको छ । त्यसैले अब युक्रेनको अर्थतन्त्र नै ध्वस्त पारेर युद्ध जित्न सकिन्छ भन्ने निष्कर्षमा उनी पुगेका छन् ।’

लफका अनुसार युक्रेनको आर्थिक संरचनामाथि योजनाबद्ध रूपमा आक्रमण भइरहेको छ । युक्रेनलाई सहयोग गरिरहेका युरोपेली मुलुकहरूले त्यहाँ विकसित भइरहेको संकटको गम्भीरता र त्यसले भविष्यमा आफूहरूमाथि पार्न सक्ने आर्थिक भारलाई पर्याप्त रूपमा बुझ्न नसकेको उनको ठहर छ । विश्वव्यापी द्वन्द्व अनुगमन गर्ने संस्था एसीएलईडीका पूर्वी युरोप अनुसन्धानकर्ता क्रिस्टियन भ्लासले यस वर्षको जाडोमा युक्रेनले अत्यन्तै भयावह मानवीय संकट सामना गर्नुपर्ने चेतावनी दिएका छन् । ‘यो सामान्य जाडो हुने छैन,’ उनी भन्छन् ।

नागरिक हताहतीमा वृद्धि, आक्रमणको संख्या पनि बढ्दो

सन् २०२६ मा युक्रेनमा रुसी आक्रमणबाट मारिने सर्वसाधारणको संख्या युद्ध सुरु भएयताका सुरुवाती महिनापछिको सबैभन्दा उच्च स्तरमा पुगेको छ । एसीएलईडीले संकलन गरेको तथ्यांकअनुसार सन् २०२६ मा अहिलेसम्म रुसी आक्रमणबाट दुई हजार सात सयभन्दा बढी युक्रेनी सर्वसाधारणको मृत्यु भइसकेको छ । युक्रेनमाथि रुसले गर्ने आक्रमणको संख्या पनि निरन्तर बढिरहेको छ । सन् २०२६ को जनवरीमा युक्रेनमाथि तीन हजार ६५० रुसी आक्रमण भएका थिए । अक्टोबरसम्म आइपुग्दा यो संख्या बढेर पाँच हजार ५३२ पुगेको छ ।

ऊर्जा पूर्वाधारदेखि उद्योग, कृषि र निर्यातसम्म रुसी आक्रमणको निशानामा परेका छन् । लाखौँ युक्रेनी विद्युत्, खानेपानी र ताप सुविधाबाट वञ्चित हुने जोखिममा छन् । यसबीच युक्रेनले पनि रुसी भूमिभित्र आक्रमण बढाएको छ । अक्टोबरमा मात्रै युक्रेनले रुसभित्र दुई हजार ३०२ आक्रमण गरेको तथ्यांकमा उल्लेख छ । युक्रेनको रक्षा मन्त्रालयका अनुसार गत महिना युक्रेनी सेनाले हतियार उत्पादनमा संलग्न कम्तीमा सात रुसी उद्योग, तीन सैन्य विमानस्थल तथा महत्त्वपूर्ण राडार र सैन्य सञ्चार केन्द्रलाई निशाना बनाएको थियो । यसअघि गर्मीयाममा युक्रेनले रुसको सबैभन्दा ठूलो अनलाइन खुद्रा व्यापार कम्पनी वाइल्डबेरीजका गोदामहरूमा समेत आक्रमण गरेको थियो । तर रुसी आक्रमणको मुख्य प्रभाव युक्रेनको नागरिक अर्थतन्त्र र सर्वसाधारणको जीवनमा देखिन थालेको छ ।

उद्योग, अन्न निर्यात र व्यापारिक संरचनामाथि प्रहार

रुसले युक्रेनका कृष्णसागरस्थित निर्यात संरचना, डेन्युब नदीका बन्दरगाह, औद्योगिक गोदाम, रेलवे पूर्वाधार तथा इस्पात उद्योगलाई नियमित रूपमा निशाना बनाइरहेको छ । यस्ता संरचनामध्ये केहीले सैनिक र नागरिक दुवै प्रयोजनमा काम गरे पनि पछिल्ला आक्रमणमा पूर्ण रूपमा नागरिक प्रयोजनका संरचनासमेत लक्षित भएको विज्ञहरूको भनाइ छ ।

यसै क्रममा गत सोमबार जापोरिजियास्थित विद्यालय भवनमा रुसी बम आक्रमण हुँदा कम्तीमा ५५ युक्रेनी नागरिकको मृत्यु भएको थियो । उक्त विद्यालयलाई आश्रयस्थल तथा मानवीय सहायता केन्द्रका रूपमा प्रयोग गरिएको थियो । युद्धको पाँचौँ वर्षमा भएका घातक घटनामध्ये यो एक थियो । यद्यपि मस्कोले सर्वसाधारणलाई लक्षित गरी आक्रमण गरेको आरोप निरन्तर अस्वीकार गर्दै आएको छ ।

युक्रेनका क्रिभी रिह र जापोरिजियास्थित प्रमुख इस्पात उद्योगहरूमा अगस्टदेखि अक्टोबरबीच भएका ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणका कारण ती उद्योग बन्द भएका छन् । उद्योग बन्द हुँदा हजारौँ परिवारको आम्दानी गुम्ने र स्थानीय अर्थतन्त्रमा गम्भीर सामाजिक तथा आर्थिक असर पर्ने भन्दै क्रिभी रिहका स्थानीय अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् ।

एसीएलईडीका अनुसन्धानकर्ता भ्लासका अनुसार उद्योगमाथिको आक्रमणले उत्पादन मात्रै प्रभावित गर्दैन, यसले सरकारको कर आम्दानी र सर्वसाधारणको तलबसमेत प्रभावित बनाउँछ ।

रुसले कृषि क्षेत्र र अन्न निर्यातलाई पनि निशाना बनाइरहेको छ । उद्योग, कृषि, व्यापार र निर्यातका विभिन्न क्षेत्रमा एकैपटक आक्रमण गरेर युक्रेनको अर्थतन्त्रमा बहुआयामिक संकट सिर्जना गर्ने प्रयास भइरहेको उनको विश्लेषण छ । रुसले सपिङ मल, भण्डारण केन्द्र र गोदामहरूमा समेत आक्रमण गरिरहेको छ । यसले सामानको आपूर्ति, बिक्री र वितरण प्रणालीमा अवरोध सिर्जना गरेको छ ।

पहिले रुसले मुख्यतः रातको समयमा आक्रमण गर्ने गरेकामा अहिले दिउँसो पनि आक्रमण बढाएको छ । दिउँसो हुने आक्रमणले दैनिक व्यापारिक गतिविधि अवरुद्ध पार्ने उद्देश्य राखेको विश्लेषण गरिएको छ । युक्रेनमा हवाई आक्रमणको चेतावनी जारी भएपछि सरकारी कार्यालय र कतिपय व्यवसायले कानुनी रूपमा आफ्नो नियमित गतिविधि सञ्चालन गर्न पाउँदैनन् । यसले अर्थतन्त्रलाई थप प्रभावित बनाउँछ ।

ऊर्जा संकटले लाखौँ मानिसको जनजीवन प्रभावित

रुसी आक्रमणको सबैभन्दा गम्भीर प्रभाव युक्रेनको ऊर्जा पूर्वाधारमा परेको छ । विद्युत् उत्पादन केन्द्र, वितरण प्रणाली र अन्य महत्त्वपूर्ण संरचनामा भएका आक्रमणका कारण धेरै ऊर्जा केन्द्र मर्मत गरेर पुनः सञ्चालन गर्न नसकिने अवस्थामा पुगेका छन् । विद्युत् र खानेपानी आपूर्ति अवरुद्ध हुँदा उद्योग तथा व्यवसाय सञ्चालनमा कठिनाइ थपिएको छ । घर तताउने प्रणाली प्रभावित हुँदा जाडोमा सर्वसाधारणको जीवन झन् जोखिमपूर्ण बनेको छ । रुसले यसअघि आक्रमणको निशानामा नपरेका पश्चिमी युक्रेनका क्षेत्रलाई समेत लक्षित गर्न थालेको छ । पश्चिमी सहर रिभ्नेसम्म ऊर्जा पूर्वाधारमाथि आक्रमण हुन थालेपछि युक्रेनको सीमित हवाई प्रतिरक्षा प्रणालीमाथि थप दबाब परेको छ ।

पछिल्लो पटक रुसले द्निप्रोपेत्रोभ्स्क क्षेत्रको विद्युत् ग्रिडमा गरेको आक्रमणका कारण ६ लाखभन्दा बढी मानिस विद्युत् सुविधाबाट वञ्चित भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । खार्किभ र झितोमिरलगायत अन्य क्षेत्रमा पनि व्यापक विद्युत् अवरोध भएको जनाइएको छ ।

युक्रेनको राजधानी किभमा शनिबारसम्म करिब ४० प्रतिशत भवनमा ताप सुविधा उपलब्ध थिएन । यसैबीच यस वर्षको पहिलो हिमपातसमेत सुरु भइसकेको छ । युक्रेनका विदेशमन्त्री आन्द्रेई सिबिहाले रुसले जाडोयाम सुरु हुनुअघि नै लाखौँ मानिसलाई विद्युत्, ताप र खानेपानीबाट वञ्चित गराउने उद्देश्य राखेको आरोप लगाएका छन् । ‘रुसले युद्धमैदानमा हासिल गर्न नसकेको उपलब्धि चिसो र अन्धकारमार्फत प्राप्त गर्न खोजिरहेको छ,’ उनले भनेका छन् ।

सर्वसाधारणको जीवनयापन थप कठिन

रुसी आक्रमणबाट सर्वसाधारणको मृत्यु बढ्नुमा जेट इन्जिनयुक्त साहेद ड्रोन र लामो समयसम्म लक्ष्य पछ्याएर आक्रमण गर्ने हतियारको प्रयोग पनि प्रमुख कारण बनेको छ । यस्ता हतियारलाई युक्रेनी सेनाले आकाशमै खसाल्न कठिन भइरहेको छ । युक्रेनले यी हतियार रोक्ने आफ्नो क्षमता सुधार गर्ने प्रयास गरिरहेको छ । तर अहिले रुसी हतियारको तुलनामा युक्रेनको प्रतिरक्षा कमजोर देखिएको विज्ञहरूको भनाइ छ । विशेषगरी अमेरिकामा निर्मित प्याट्रियट क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीका इन्टरसेप्टरको अभावले युक्रेनलाई थप समस्यामा पारेको छ । रुसी ब्यालिस्टिक क्षेप्यास्त्र खसाल्न सक्ने सीमित हतियारमध्ये प्याट्रियट पनि एक हो ।

एसीएलईडीका भ्लासका अनुसार अप्रिलदेखि नै सर्वसाधारणको मृत्यु र घाइते हुने संख्या लगभग निरन्तर बढिरहेको छ । अक्टोबरको सुरुवातमा मृत्यु हुनेको संख्यामा भएको वृद्धि झन् चिन्ताजनक रहेको उनले बताएका छन् । अन्तर्राष्ट्रिय उद्धार समिति (आईआरसी) को नयाँ प्रतिवेदनले पनि दक्षिणी र पूर्वी युक्रेनका सर्वसाधारण आर्थिक संकटका कारण आफ्नो घर छाड्न वा जीविकोपार्जनका लागि जोखिमपूर्ण काम गर्न बाध्य भएको देखाएको छ ।

केही क्षेत्रमा किसानहरू आफ्नो आम्दानीको स्रोत जोगाउन बारुदी सुरुङले भरिएका खेतमा समेत काम गर्न बाध्य छन् । खेतमा विस्फोटक पदार्थ रहेको थाहा हुँदाहुँदै पनि उनीहरू खेतीपाती गर्न जोखिम मोलिरहेका छन् । माइकोलाइभ क्षेत्रमा गरिएको सर्वेक्षणमा सहभागी सयौँ परिवारमध्ये ९१ प्रतिशतले तत्काल आर्थिक सहायता आवश्यक रहेको बताएका छन् । त्यस्तै, द्निप्रोपेत्रोभ्स्क क्षेत्रमा ४२ प्रतिशत परिवारले आर्थिक सहयोगलाई आफ्नो अत्यावश्यक आवश्यकता बताएका छन् ।

युक्रेनमा आईआरसीकी उपक्षेत्रीय व्यवस्थापन निर्देशक ओल्गा कासुबाका अनुसार आर्थिक स्रोतको अभाव केवल बिल तिर्न नसक्ने समस्यामा सीमित छैन । यसले मानिसलाई आफ्नो जीवन नै परिवर्तन गर्नुपर्ने कठिन निर्णय लिन बाध्य बनाइरहेको छ । पूर्वी युक्रेनका धेरै सर्वसाधारणका लागि सन् २०१४ देखि नै युद्धले दैनिक जीवन र जीविकोपार्जनमा अवरोध सिर्जना गरेको छ । अर्थात्, उनीहरूले एक दशकभन्दा बढी समयदेखि निरन्तर आर्थिक दबाब सामना गरिरहेका छन् ।

कासुबाले किभमा बस्दा आफ्नै वरपरका मानिसको आम्दानी गुम्दै गएको र आर्थिक चिन्ता बढ्दै गएको प्रत्यक्ष अनुभव गरेकी छन् । उनले किनमेल गर्ने स्थानीय किसान बजार रुसी आक्रमणबाट ध्वस्त भएपछि बन्द भएको थियो । नजिकैको एउटा गोदाममा भएको अर्को आक्रमणले साना पुस्तक पसलका सञ्चालकहरूको सामानसमेत नष्ट गरेको उनले बताइन्। ‘किराना पसलहरू जलाइँदा र गोदामहरू ध्वस्त पारिँदा सामानमा मात्रै क्षति पुग्दैन । ती हजारौँ मानिसको आम्दानीको स्रोत पनि हुन्,’ उनले भनिन् ।

NECO

Leave Your Comment

Related News