Global College

विश्वकै तीव्र गतिको ऐतिहासिक जहाज एसएस युनाइटेड स्टेट्स डुबाइँदैे

काठमाडौं । कुनै समय विश्वकै तीव्र गतिको मानिएको र ‘टाइटानिक’ भन्दा पनि लामो पानीजहाज ‘एसएस युनाइटेड स्टेट्स’ लाई अमेरिकाको फ्लोरिडा तट नजिकै समुद्रमा डुबाइने भएको छ। यसलाई विश्वकै सबैभन्दा ठूलो कृत्रिम समुद्री चट्टानमा रूपान्तरण गरिनेछ।

करिब ३० वर्षसम्म फिलाडेल्फियाको बन्दरगाहमा थन्किएको यो जहाजलाई हालै फ्लोरिडा सारिएको हो। अब यो जहाज समुद्री जीवजन्तुको बासस्थान र समुद्री पारखीहरूका लागि पानीमुनिको आकर्षणको केन्द्र बन्नेछ। सयौँ पटक आन्ध्र महासागर पार गरेको यस ऐतिहासिक जहाजलाई सङ्ग्रहालयका रूपमा जोगाइराख्न अभियन्ताहरूले निकै प्रयास गरेका थिए। तर, उनीहरूको प्रयास सफल हुन सकेन।

फ्लोरिडाको एक काउन्टीले यो जहाज खरिद गरेसँगै अब यसलाई तटीय क्षेत्रका दर्जनौँ कृत्रिम चट्टानहरूको सूचीमा थपिनेछ। साथै, जहाजको इतिहास झल्काउने गरी जमिनमा छुट्टै सङ्ग्रहालय बनाउने योजना पनि अघि सारिएको छ।

सन् १९५२ देखि १९६९ सम्म सञ्चालनमा रहँदा ‘एसएस युनाइटेड स्टेट्स’ अमेरिका र युरोपबिच राजपरिवार तथा चर्चित सेलिब्रेटीहरूलाई ओसारपसार गर्न प्रख्यात थियो। राष्ट्रपति बन्नुअघि युवा अवस्थाका बिल क्लिन्टनले यही जहाजबाट आन्ध्र महासागर पार गरेका थिए। यसका साथै पूर्वराष्ट्रपतिहरू ह्यारी ट्रुम्यान, ड्वाइट आइजनहावर र जोन केनेडीले पनि यसमा यात्रा गरेका थिए। आफ्नो सक्रिय सेवाकालमा मार्लन ब्रान्डो, कोको च्यानल, ड्युक एलिंगटन, साल्भाडोर डाली, वाल्ट डिज्नी, जुडी गारल्यान्ड र क्यारी ग्रान्ट जस्ता हस्तीहरूले पनि यस जहाजको यात्रा गरेका थिए।

सरसफाइ र मर्मतसम्भारका लागि यो जहाजलाई गत वर्ष फिलाडेल्फियाबाट अलाबामा लगिएको थियो। सोमबार अलाबामाबाट फ्लोरिडाको डेस्टिन तटतर्फ आफ्नो अन्तिम यात्रा तय गरेको यस जहाजलाई विस्फोटक पदार्थको प्रयोग नगरीकन अत्यन्तै सूक्ष्म र सटिक प्रविधि अपनाएर डुबाइनेछ। फ्लोरिडाको स्थानीय सरकारले खरिद गर्नुअघि यसलाई सङ्ग्रहालय वा तैरने होटलका रूपमा दोस्रो जीवन दिने थुप्रै प्रस्तावहरू असफल भएका थिए। कानुनी लडाइँहरूका कारण विभिन्न मालिकहरूको स्वामित्वमा रहँदै यो प्रसिद्ध जहाज विभिन्न बन्दरगाहमा थन्किएर बसेको थियो। ‘एसएस युनाइटेड स्टेट्स कन्जर्भेन्सी’ समूहले जहाजलाई पानीमाथि नै जोगाइराख्न पटक-पटक प्रयास गरे पनि सफल हुन सकेन।

NECO

Leave Your Comment

Related News