Global College

हिमालयन डिस्टिलरीको नाफा १३८ प्रतिशतले बढ्यो,नक्कली उत्पादन र कर प्रणालीको चुनौती कायम

काठमाडौं । नेपालको मदिरा तथा पेय पदार्थ उद्योग क्षेत्रको अग्रणी कम्पनी ‘हिमालयन डिस्टिलरी ले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमास (साउनदेखि असोज मसान्तसम्म) को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक वित्तीय विवरणअनुसार यस त्रैमासमा कम्पनीले आफ्नो व्यापार र नाफा दुवैमा उच्च वृद्धि हासिल गर्दै उत्कृष्ट व्यावसायिक प्रदर्शन देखाएको छ।

समीक्षा अवधिमा कम्पनीले उत्पादन बिक्री तथा सञ्चालनमार्फत कुल १ अर्ब ७६ करोड २८ लाख रुपैयाँ आम्दानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको यस्तो आम्दानी १ अर्ब ७ करोड ५७ लाख रुपैयाँ रहेको थियो, जसको तुलनामा चालु वर्षको बिक्री आम्दानी ६३.८७ प्रतिशतले बढेको छ। बजारमा कम्पनीका उत्पादनहरूको माग उच्च रहनु र प्रभावकारी बजार विस्तार हुनुले आम्दानीमा यो फड्को मार्न सहयोग पुगेको देखिन्छ। बिक्रीमा भएको वृद्धिसँगै कम्पनीको कुल नाफा ६७.३९ प्रतिशतले बढेर ६० करोड ४३ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ३६ करोड १० लाख रुपैयाँ थियो।

कम्पनीले आफ्नो व्यावसायिक खर्चहरूलाई व्यवस्थित गर्दै खुद नाफामा समेत ऐतिहासिक वृद्धि गरेको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा हिमालयन डिस्टिलरीले २१ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ९ करोड २५ लाख रुपैयाँमा सीमित रहेको थियो। यस हिसाबले अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद नाफा १३८.१८ प्रतिशतले बढेको छ। यस अवधिमा कम्पनीको प्रशासनिक तथा बिक्री वितरण खर्च नियन्त्रणमा रहनुका साथै सञ्चालन मुनाफा  बढेर ३३ करोड ८५ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको वित्तीय मजबुत रहेको छ। असोज मसान्तसम्म कम्पनीको कुल सम्पत्ति तथा दायित्व ६ अर्ब २९ करोड ४६ लाख रुपैयाँ पुगेको छ। हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ६८ करोड ८० लाख रुपैयाँ रहेको छ भने जगेडा तथा अन्य सञ्चित कोषमा १ अर्ब ७५ करोड १३ लाख रुपैयाँ जम्मा भएको छ। यसले गर्दा कम्पनीको कुल सेयरधनी कोष  ५ अर्ब ४३ करोड ९४ लाख रुपैयाँ कायम भएको छ।

यस त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी बढेर २३.३२ रुपैयाँ पुगेको छ। त्यस्तै, प्रतिशेयर नेटवर्थ १४७.४९ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात  ५६.१४ गुणा र तरलता अनुपात  ६.३६ गुणा कायम भएको छ।

यद्यपि व्यवस्थापनले आफ्नो प्रतिवेदनमा केही प्रमुख व्यावसायिक समस्या तथा चुनौतीहरूप्रति सचेत गराएको छ। खुला बजारमा हुने अवैध मदिराको आयात, चोरी पैतारी र नक्कली उत्पादनहरूको बजारमा उपस्थिति मुख्य चुनौतीको रूपमा रहेको छ, जसले आधिकारिक ब्रान्डहरूको बजार हिस्सा र राजस्वमा असर पार्न सक्छ। यसबाहेक, कच्चा पदार्थको मूल्यमा हुने उतारचढाव, बढ्दो व्यावसायिक प्रतिस्पर्धा तथा ढुवानी लागतमा हुने वृद्धिले नाफा मार्जिनलाई दबाबमा राख्ने जोखिम सधैं रहिरहन्छ।

साथै, सरकारी नीतिगत व्यवस्था, आबकारी शुल्क र कर प्रणालीमा हुने परिवर्तनहरूले मदिरा उद्योगको उत्पादन तथा वितरण लागतमा प्रत्यक्ष प्रभाव पार्ने हुँदा यी नियमनकारी परिवर्तनहरूसँग जुध्नु कम्पनीका लागि अर्को ठुलो चुनौती बनेको छ।

NECO

Leave Your Comment

Related News