काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को कार्तिक महिनामा नेपालको उद्योग तथा व्यवसाय क्षेत्रमा ३ अर्ब ४२ करोड ४३ लाख रुपैयाँ बराबरको प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार कार्तिक महिनामा कुल ८५ वटा उद्योग तथा व्यवसायका लागि सो बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको हो।
विभागका अनुसार चालु आर्थिक वर्षको चार महिना (साउनदेखि कार्तिकसम्म) मा कुल ४९७ वटा उद्योग तथा व्यवसायका लागि १९ अर्ब ५५ करोड २८ लाख रुपैयाँ एफडीआई प्रतिबद्धता आएको छ।
कार्तिक महिनामा प्राप्त प्रतिबद्धतामध्ये स्वचालित (अटोमेटिक) प्रणालीमार्फत ८० वटा उद्योग तथा व्यवसायका लागि ३ अर्ब ३ करोड ७१ लाख रुपैयाँ र साधारण प्रक्रियामार्फत ५ वटा उद्योगका लागि ३८ करोड ७२ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ।
समीक्षा अवधिमा सबैभन्दा बढी लगानी प्रतिबद्धता पर्यटन क्षेत्रमा रहेको छ। चार महिनाको अवधिमा पर्यटन क्षेत्रका १४६ वटा उद्योगका लागि ८ अर्ब ६६ करोड ७८ लाख रुपैयाँ, सेवा क्षेत्रका ४४ वटाका लागि ३ अर्ब ९५ करोड २९ लाख रुपैयाँ, उत्पादनमूलक क्षेत्रका २९ वटाका लागि १ अर्ब ७५ करोड रुपैयाँ, सूचना प्रविधि क्षेत्रका २७२ वटाका लागि ९७ करोड ९६ लाख रुपैयाँ, ऊर्जा क्षेत्रका लागि ४ अर्ब ५ करोड रुपैयाँ र कृषि क्षेत्रका लागि १५ करोड रुपैयाँ लगानी प्रतिबद्धता प्राप्त भएको छ।
स्वीकृत विदेशी लगानीका परियोजनाबाट ६ हजार २०१ जनालाई रोजगारी दिने प्रतिबद्धता आएको छ। कात्तिक महिनामा मात्रै स्वीकृत भएका ८५ परियोजनाले ५३२ जनालाई रोजगारी दिने प्रस्ताव गरेका छन्।
विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न सहज बनाउने प्रक्रियाअन्तर्गत लगानीकर्ता भिसाको सिफारिस पनि हुँदै आएको छ। तर चालु आर्थिक वर्षको पहिलो चार महिनामा लगानीकर्ता भिसाको सिफारिस संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा घटेको छ।
चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म १७९ लगानीकर्ता भिसाका लागि सिफारिस भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या ७७१ थियो। त्यसैगरी विदेशी लगानीकर्ताका प्रतिनिधिका लागि ११२ र उनीहरूका आश्रितका लागि १८३ भिसा सिफारिस भएको छ। अघिल्लो वर्षको सोही अवधिमा प्रतिनिधिका लागि १२२ र आश्रितका लागि २२५ भिसा सिफारिस भएको थियो।



