काठमाडौं । नेपाल ग्यास बिक्रेता महासंघले ग्यास उद्योगबाट भइरहेको खुद्रा बिक्री बन्द गरी डिलरमार्फत खाना पकाउने ग्यास बिक्री तथा वितरणको व्यवस्था मिलाउन माग गरेको छ।
महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले २०८२ साल फागुन २८ गतेदेखि नेपालमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएको र हालसम्म पनि उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको बताएका छन्।
उनले बजारमा आवश्यकताभन्दा बढी सिलिन्डर हुनु ग्यास अभावको प्रमुख कारण रहेको बताए। तर, बजारमा रहेका अतिरिक्त सिलिन्डरको व्यवस्थापन गर्नुको सट्टा विभिन्न ग्यास उद्योगले २ हजार ५ सयदेखि २ हजार ७ सय रुपैयाँसम्ममा नयाँ सिलिन्डर बिक्री गरिरहेको भन्दै उनले आपत्ति जनाए।
नयाँ सिलिन्डर बिक्री भइरहँदा समेत नेपाल आयल निगम र सरकार मौन बसेको भन्दै महासंघले उद्योगी, निगम र सरकारको भूमिकामाथि प्रश्न उठाएको छ।
महासंघले बजारमा रहेका अनावश्यक सिलिन्डरको धरौटी फिर्ता गरी व्यवस्थापन गर्नुको सट्टा आगामी वर्षमा उपभोक्तामाथि थप आर्थिक भार पर्ने गरी ५ केजी, १९ केजी, ५० केजी र ४५० केजीका सिलिन्डर बिक्री गर्ने योजना अघि बढाउनु उचित नभएको जनाएको छ।
अध्यक्ष अर्यालले ग्यास अभावको वास्तविक समस्या पहिचान गरी सरोकारवालासँग परामर्श गरेर सहज आपूर्तिको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।
महासंघले ग्यास उद्योगबाट भइरहेको खुद्रा बिक्री तत्काल बन्द गरी डिलरमार्फत मात्र बिक्री वितरण गर्ने व्यवस्था गर्न तथा १४.२ केजी क्षमताका सिलिन्डरको उचित व्यवस्थापन गर्न पनि जोडदार माग गरेको छ।



