RE
Global College

महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय पहिचान दिलाउन ‘ट्रेडमार्क’ अभियान

काठमाडौं । महिला उद्यमी महासङ्घ नेपालले महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय पहिचान दिलाउँदै बजार पहुँच विस्तार गर्ने उद्देश्यले ‘म उद्यमी ट्रेडमार्क’ अभियानलाई देशव्यापी रूपमा अघि बढाउने भएको छ।

महिला उद्यमीहरूद्वारा उत्पादित वस्तुको पहिचान, प्रवर्द्धन तथा बजार पहुँच विस्तार गर्ने उद्देश्यले अगाडि बढाइरहेको म उद्यमी ट्रेडमार्क (व्यापारिक चिह्) सामूहिक चिह्न अभियानका बारेमा जानकारी दिन महासङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष दर्शना श्रेष्ठले यो अभियानलाई देशभरका महिला उद्यमीसम्म विस्तार गर्ने बताएकी हुन्।

“गुणस्तरीय उत्पादन मात्रै पर्याप्त हुँदैन, उत्पादनले आफ्नो पहिचान निर्माण गर्नुपर्छ, उपभोक्ताको विश्वास जित्नुपर्छ र बजारमा विशिष्ट स्थान हासिल गर्नुपर्छ”, उनले भनिन् अध्यक्ष श्रेष्ठका अनुसार ‘मेरो पहिचान, मेरो उद्यम’ भन्ने मूल भावनाका साथ अघि बढाइएको ‘म उद्यमी’ अभियानले महिला उद्यमी र उनीहरूका उत्पादनलाई एउटै साझा पहिचानमा जोड्नेछ।

नेपाली महिला उद्यमीले उत्पादन गरेका वस्तु तथा सेवामा स्थानीय सीप, संस्कृति, मौलिकता, परिश्रम र सिर्जनशीलता प्रतिबिम्बित भए पनि धेरै उत्पादनले अझै बजारमा अपेक्षित पहिचान र अवसर पाउन नसकेको अध्यक्ष श्रेष्ठले बताइन्। ‘म उद्यमी’ ट्रेडमार्कले महिला उद्यमीका उत्पादन पहिचान गर्न, उपभोक्ताको विश्वास बढाउन तथा बजारमा तिनको दृश्यता र व्यावसायिक अवसर विस्तार गर्न सहयोग पुग्ने उनको भनाइ छ।

गत असारमा प्रधानमन्त्रीसँग भएको भेटका क्रममा ‘म उद्यमी’ ट्रेडमार्कको महत्व र यसको पहुँच विस्तार गर्ने विषयमा विशेष चासो व्यक्त भएको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले यसलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउने प्रतिबद्धता जनाइन्।

महिला उद्यमी महासङ्घ नेपालले सातै प्रदेश तथा जिल्लास्थित महिला उद्यमी सङ्घमार्फत महिला उद्यमीको क्षमता अभिवृद्धि, नीतिगत पैरवी, वित्तीय तथा बजार पहुँच विस्तार र व्यावसायिक सञ्जाल निर्माणमा काम गर्दै आएको उनले जानकारी दिइन्। महिला नेतृत्वमा सञ्चालित उद्यमलाई दिगो, प्रतिस्पर्धी र सफल बनाउनु महासङ्घको प्रमुख उद्देश्य रहेको उनको भनाइ छ।

कार्यक्रममा उद्यमी तथा व्यावसायिक प्रोफाइलिङ, ‘म उद्यमी’ अन्तर्गतका उत्पादनको प्रदर्शनी र सञ्चारमाध्यमसँगको सहकार्यलाई प्राथमिकतामा राखिएको थियो । त्यस्तै, प्रदर्शनीमार्फत उपभोक्ता, वितरक, व्यावसायिक साझेदार तथा सम्भावित बजारलाई महिला उद्यमीका उत्पादनसँग परिचित गराउने उद्देश्य राखिएको छ।

महिला उद्यमीका उत्पादनलाई बजारसम्म पुर्याउन प्रचारप्रसार र प्रवद्र्धनमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले उत्पादन, उद्यमशीलता र सफलताका कथालाई आम नागरिकसम्म पुर्‍याउन सञ्चारकर्मीलाई आग्रह गरिन् ।

आगामी दिनमा ‘म उद्यमी’ अभियानको पहुँच विस्तार, उद्यमी तथा उत्पादनको व्यवस्थित अभिलेखीकरण, गुणस्तर अभिवृद्धि, ‘ब्रान्डिङ’ तथा ‘प्याकेजिङ’ सुधार र ‘डिजिटल’ उपस्थिति सुदृढीकरणमा काम गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिइन्। यसका लागि प्रदेश तथा जिल्ला सङ्घ, सरकारी निकाय, विकास साझेदार, निजी क्षेत्र र सञ्चारमाध्यमसँग सहकार्य गरिने बताइन्।

‘म उद्यमी’ कुनै सीमित समूहको अभियान नभई हिमाल, पहाड र तराईमा रहेका सबै महिला उद्यमीका उत्पादनलाई साझा राष्ट्रिय पहिचान दिलाउने प्रयास भएको उल्लेख गर्दै उनले यसलाई नेपाली उत्पादनको विश्वास, गुणस्तर, मौलिकता र महिला उद्यमशीलताको प्रतीकका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताइन्।

महासङ्घका प्रथम उपाध्यक्ष सुनिता वैद्य श्रेष्ठले उक्त अभियानप्रति चासो र विश्वास व्यक्त गर्दै यसको पहुँच देशभर विस्तार गर्न प्रेरणा दिएकामा प्रधानमन्त्रीप्रति आभार व्यक्त गरिन्। द्वितीय उपाध्यक्ष वासन्ती प्रधानले महिला उद्यमीहरूका उत्पादनलाई प्रचारप्रसार गर्न सार्वजनिक निजी संवाद ‘पोडकाष्ट सिरिज’ सञ्चालन भइरहेको जानकारी गराइन्।

त्यस्तै, महासचिव सविता सुवेदीले सामूहिक ‘ट्रेडमार्क प्रोफाइलिङ’बाट महिला उद्यमीको अवस्था, उत्पादनको विविधता, बजार आवश्यकता र व्यावसायिक सम्भावनाबारे तथ्यगत विवरण सङ्कलन हुने अपेक्षा गरिएको जानकारी गराइन्।

 

NECO

Leave Your Comment

Related News