काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) खेलेपछि अस्ट्रेलियाका चर्चित क्रिकेटर डेभिड वार्नरले नेपाल बसाइको अनुभवलाई कहिल्यै बिर्सन नसक्ने बताएका छन्। सामाजिक सञ्जाल इन्स्टाग्राममा एक पोस्ट सेयर गर्दै उनले नेपालीहरुको न्यानो आतिथ्य र क्रिकेटप्रतिको प्रेमको खुलेर प्रशंसा गरेका हुन्।
इन्स्टाग्राम पोस्टमा उनले लेखेका छन्, “अविश्वसनीय आतिथ्यदेखि क्रिकेटप्रतिको जोश, मनमोहक प्राकृतिक दृश्यहरू र सबैभन्दा महत्त्वपूर्ण सुन्दर मन भएका मानिसहरूसम्म—यो एक यस्तो अनुभव रह्यो जुन म कहिल्यै बिर्सने छैन। मलाई खुला हृदयले स्वागत गर्नुभएकोमा धन्यवाद। तपाईंहरूले पक्कै पनि मेरो मनमा एक विशेष स्थान बनाउनुभएको छ।”
वार्नरले उक्त पोस्टको पृष्ठभूमिमा गायक राजु लामाको गीत मेरो नेपाल समेत राखेका छन्, जसले नेपाली समर्थकहरूको मन झनै जितेको छ।
काठमाडौँ गोर्खाजबाट एनपीएल खेलेका वार्नरले प्रतियोगितामा कुल ४ खेल खेल्दै १२७ रन बनाएका थिए। सो क्रममा उनले १४ चौका र ४ छक्का प्रहार गरेका थिए। विशेष गरी विराटनगर किङ्ग्सविरुद्धको खेलमा उनले उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई महत्त्वपूर्ण योगदान दिएका थिए। उनको आक्रामक ब्याटिङ कौशल र नेपालप्रतिको आत्मीयतालाई नेपाली क्रिकेट समर्थकहरूले निकै रुचाउँदै सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्।



