काठमाडौं । अरुण काबेली पावर लिमिटेडको खुद नाफा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा उल्लेख्य घटेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म कम्पनीले २ करोड १ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको छ।
गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ८० लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। यसअनुसार कम्पनीको खुद नाफा ६५.२७ प्रतिशतले घटेको हो।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी पनि घटेको छ। गत वर्षको पहिलो त्रैमासमा १९ करोड ४२ लाख ८७ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा १७ करोड ६४ लाख ५९ हजार रुपैयाँ आम्दानी गरेको छ। यो गत वर्षको तुलनामा करिब ९.१४ प्रतिशत कम हो।
कम्पनीको कुल नाफा भने १४ करोड ८६ लाख ८८ हजार रुपैयाँ रहेको छ। गत वर्षको सोही अवधिमा यस्तो नाफा १८ करोड २० लाख ४० हजार रुपैयाँ थियो।
त्यस्तै, कम्पनीको कुल खर्च १२ करोड ९४ लाख २७ हजार रुपैयाँ रहेको छ। कम्पनीको वित्तीय खर्च ६ करोड ३१ लाख १८ हजार रुपैयाँ र ह्रासकट्टी खर्च ५ करोड ८३ लाख ४५ हजार रुपैयाँ रहेको छ।
कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ७ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १०२ रुपैयाँ २९ पैसा छ। त्यस्तै, मूल्य आम्दानी अनुपात १२२.५५ गुणा र तरलता अनुपात ०.७५ रहेको छ।
कम्पनीको चुक्ता पुँजी ३ अर्ब ८९ करोड ५४ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा कम्पनीको कुल सम्पत्ति ७ अर्ब ३६ करोड १० लाख रुपैयाँ पुगेको छ।
कम्पनीले काबेली बी–१ जलविद्युत् आयोजनाबाट सन्तोषजनक रूपमा विद्युत् उत्पादन भइरहेको जनाएको छ। साथै, समीक्षा अवधिमा कम्पनीविरुद्ध कुनै मुद्दा मामिला नपरेको र संस्थाको वित्तीय अवस्था तथा व्यावसायिक गतिविधिमा उल्लेखनीय परिवर्तन नरहेको प्रतिवेदनमा उल्लेख छ।



