काठमाडौं । टर्कीको अन्तालियामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप–३१) को साइडलाइनमा परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसबीच द्विपक्षीय भेटवार्ता भएको छ। परराष्ट्रमन्त्री खनालले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार, भेटका क्रममा उनले हालै भोटेकोशीमा आएको जलवायुजन्य बाढीपछि महासचिव गुटेर्रेसले व्यक्त गरेको सहानुभूति र ऐक्यबद्धताको सन्देशप्रति आभार प्रकट गर्दै बहुपक्षीयता, विश्व शान्ति, मानव मर्यादा र दिगो विकासका लागि महासचिवले निर्वाह गरेको दृढ नेतृत्वको प्रशंसा गरे। सो अवसरमा महासचिव गुटेर्रेसले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनहरूमा प्रमुख सैनिक तथा प्रहरी पठाउने राष्ट्रका रूपमा नेपालले विश्व शान्ति र स्थायित्वमा पुर्याउँदै आएको महत्त्वपूर्ण योगदानको उच्च मूल्याङ्कन गरेका छन्।
भेटमा दुवै नेताबीच नेपालको पुनर्लाभ तथा पुनर्निर्माण प्रयास, विश्वव्यापी शासन सुधारको अपरिहार्यता, बहु–प्रकोप पूर्वसूचना प्रणाली, जलवायु वित्तमा वृद्धि तथा जलवायु कार्यलगायत क्षेत्रीय र विश्वव्यापी महत्त्वका विषयमा सार्थक छलफल भएको उल्लेख छ।



