काठमाडौं । ओरिएन्टल इन्स्योरेन्स कम्पनी चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्म ३२ करोड ६० लाख रुपैयाँ घाटामा रहेको छ। कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार घाटा अघिल्लो वर्षको सोही अवधिको तुलनामा बढेको हो।
अघिल्लो आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्म कम्पनी २८ करोड ४८ लाख रुपैयाँ घाटामा रहेको थियो। यसरी समीक्षा अवधिमा कम्पनीको घाटा ४ करोड १२ लाख रुपैयाँले बढेको छ।
यद्यपि, कम्पनीको बीमाशुल्क आर्जनमा भने सुधार देखिएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीले ५२ करोड ९३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४३ करोड ६६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। यो अघिल्लो वर्षको तुलनामा २१.२२ प्रतिशतले बढी हो।
त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आर्जन पनि २१.३४ प्रतिशतले बढेर ३१ करोड ५५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २८ करोड ८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
समीक्षा अवधिमा कम्पनीले पुनर्बीमाका लागि २१ करोड ३८ लाख रुपैयाँ खर्च गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च १५ करोड ५८ लाख रुपैयाँ रहेको थियो।
वित्तीय विवरणअनुसार कम्पनीको शेयर प्रिमियममा १ अर्ब ८८ करोड ७३ लाख रुपैयाँ रहेको छ। त्यस्तै, महाविपत्ति कोषमा २९ करोड ८३ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ २९ करोड ८३ लाख रुपैयाँ ऋणात्मक रहेको छ। कम्पनीको अन्य इक्विटी ९२ करोड ९५ लाख रुपैयाँ रहेको छ।
कम्पनीको सोल्भेन्सी मार्जिन अनुपात २.७३ प्रतिशत रहेको वित्तीय विवरणमा उल्लेख छ।



