CLI

९५ प्रतिशतले घट्यो विदेशी लगानीकर्तालाई लाभांश वितरण

काठमाडौं । विदेशी लगानीकर्ताले नेपालको उद्योग तथा व्यवासायमा लगानी गरी करिब साढे ६ करोड लाभांश लगेका छन् । उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा विदेशी लगानीकर्ताले ६ करोड ४० लाख लाभांश लगेका हुन् । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ९५ प्रतिशतले लाभांश वितरणमा कमी हो । गत आर्थिक वर्षको पहिलो चार महिनामा विदेशी लगानीकर्ताले १ ४१ करोड ६ लाख लाभांश लगेका थिए ।

विभागका निर्देशक अर्जुन सेन ओलीका अनुसार विदेशी लगानीकर्ताले लगानीप्रतिफल स्वरुप लाभांश रकम लगेको बताए । आर्थिक वर्ष २०७९/८० मा १६ अर्ब ७६ करोड ९३ लाख रुपैयाँ र आर्थिक वर्ष २०८०/८१ मा १० अर्ब ५१ करोड ५५ लाख रुपैयाँ लाभांश वितरण गरिएको विभागले जनाएको छ । विदेशी लगानीकर्ताहरूले साना, मझौला र ठूला उद्योगहरूमा लगानी गरेबापत लाभांश लगेका हुन् ।

विभागका अनुसार १५ वटाभन्दा बढी मुलुकका लगानीकर्ताहरूले उक्त लाभांश रकम लगेका हुन् । नेपालको उद्योग क्षेत्रमा लगानी गरी सबैभन्दा धेरै लाभांश लैजानेमा भारतीय उद्योगी तथा व्यवसायीहरू रहेका छन् भने त्यसपछि क्रमशः आइरल्याण्ड, अष्ट्रेलिया, बेलायत, पाकिस्तान, मौरिसस, सिगांपुर, बंगलादेशलगायतका उद्योगी तथा व्यवसायीहरू रहेका छन् । यता लगानी प्रतिबद्धता जनाउनेमा भने चीन, भारत, हङकङ, अमेरिका, बेलायतलगायतका दर्जनबढी मुलुक छन् ।

विभागले वैदेशिक लगानीबापत चालू आर्थिक वर्षको चार महिनामा ३८ करोड २२ लाख ५४ हजार राजस्व संकलन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा भने ७४ करोड ८६ लख ६७ हजार राजस्व संकलन गरेको थियो । लाभांश मात्र नभई राजस्व संकलनमा समेत कमी आएको उनले बताए । प्रत्यक्ष वैदेशिक लगानीतर्फ लाभांश मात्र नभई राजस्व समेत प्रभावित बन्न पुगेको उनको भनाई छ । चालु आर्थिक वर्षको भदौसम्म भने ३५ करोड १४ लाख ६९ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।यसैबीच विभागले प्रत्येक महिना करिब दुई करोड रुपैयाँदेखि करिब ६० करोड रुपैयाँबरारबर राजस्व सङ्कलन गर्दै आएको छ । विभागले लाभांश वितरण राजस्व सङ्कलनका साथै उद्योगको सेयर खरिद सम्झौता (एसपीए) र साझेदारी सदस्यता सम्झौता (एसएसए) लगायतका कामहरू गरेको छ ।

ऐनअनुरूप विदेशी लगानीकर्ताले नेपालमा लगानी गरिसकेपछि आफ्नो लगानीको सेयर वा उद्योग पूर्ण वा आंशिकरूपमा बिक्री गरी कर चुक्ता गरी आफ्नो लगानी तथा मुनाफा लैजान सक्नेछन् । उनीहरूले लगानी गरेको सोही विदेशी मुद्र्रा वा अन्य परिवत्र्य विदेशी मुद्रामा कर चुक्ता गरी राष्ट्र बैंकको स्वीकृति लिई लाभांश लैजान सक्ने व्यवस्था सरकारले गरेको छ । लाभांश लैजान भने राष्ट्र बैंकमा लेखाङ्कन गर्नु अनिवार्य छ । त्यस्तै, विदेशी लगानीकर्तालाई प्रत्यक्ष विदेशी लगानी तथा हस्तान्तरण ऐन, २०७५ ले नेपालमा रहेको उद्योग क्षेत्रमा लगानी गर्ने अधिकार प्रदान गरेको छ ।

Leave Your Comment

Related News