CLI

बुढीगण्डकी लगायत विभिन्न जलविद्युत परियोजनाको लगानी स्वीकृत

काठमाडौं । लगानी बोर्डको ६० औँ बोर्ड बैठकले बुढीगण्डकीलगायत विभिन्न जलविद्युत परियोजनाको लगानी स्वीकृत गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा सम्पन्न बैठकले तीन सय ४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत परियोजनाका लागि रु ७० अर्ब, एक सय छ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् परियोजनाका लागि रु २३ अर्ब ५९ करोड र दुई सय १० मेगावाट क्षमताको चैनपुर सेती परियोजनाका लागि रु ४७ अर्ब ५४ करोड लगानी स्वीकृतिको निर्णय गरेको हो ।

यसैगरी बैठकले तीन सय २७ मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी र सम्राट सिमेन्ट कम्पनी  प्रालिको  म्याद थप गरेको छ भने पश्चिम सेती जलविद्युत परियोजनाको क्षमता सात सय ५० मेगावाट बाट बढाएर आठ सय मेगावाट बनाउने गरी म्याद थप तथा चार किल्ला जडित क्षेत्रको अनुमतिपत्र संशोधनको निर्णय गरेको छ । साथै माथिल्लो कर्णाली जलविद्युत आयोजनाको शेयर परिवर्तन र सम्झौतापत्र संशोधनको निर्णय गरिएको छ ।

प्रधानमन्त्री ओलीले सम्बन्धित निकायहरुले समन्वयात्मकरुपमा काम गरी मुलुकमा लगानीको उचित वातावरणा सृजना गर्न र समृद्धिको यात्रामा तदारुकताका साथ काम गर्न आग्रह गरेका छन्  ।

उनले विकास र समृद्धिका लागि विद्यमान कानुन र संशोधन गर्न सरकार तयार रहेको पनि बताएका थिए ।

बैठकमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले यसअघिको असोज २२ गतेको निर्णयका आधारमा बोर्डको रणनीतिक तथा व्यावसायिक योजनाको मस्यौदा तयार गरी सरोकार भएका पक्षसँग छलफल भइरहेको जानकारी गराएका थिए।

Leave Your Comment

Related News