काठमाडौं । सरकारले सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि लिँदै आएको सलामी दस्तुर (आरोहण अनुमति शुल्क) वृद्धि गरेको छ। पर्यटन विभागका महानिर्देशक नारायणप्रसाद रेग्मीका अनुसार पुस २६ गतेको मन्त्रीपरिषद् बैठकले पर्वतारोहणसम्बन्धी नियमावलीलाई छैटौँ पटक संशोधन गर्दै दस्तुर वृद्धि गर्ने निर्णय गरेको हो।
यसअघि विदेशी नागरिकले सगरमाथा आरोहणका लागि ११ हजार अमेरिकी डलर शुल्क तिर्दै आएका थिए। अब आगामी भदौदेखि यो शुल्क १५ हजार अमेरिकी डलर पुग्नेछ। नेपाली मुद्रामा यसको गणना गर्दा करिब २० लाख ६९ हजार रुपियाँ पर्छ, जुन पहिलाको करिब १५ लाख रुपियाँभन्दा उल्लेखनीय वृद्धि हो। नेपाली नागरिकका लागि पनि शुल्क दोब्बर बढाइएको छ। अब नेपालीले सगरमाथा चढ्न ७५ हजार रुपियाँको सट्टा डेढ लाख रुपियाँ तिर्नुपर्नेछ।
अन्य हिमालको आरोहण शुल्कमा वृद्धि
सरकारले सगरमाथासँगै आरोहणका लागि खुला गरिएका ४६१ हिमालको आरोहण अनुमति शुल्क वृद्धि गर्ने निर्णय गरेको छ। उचाइअनुसार विभिन्न हिमालको शुल्क पनि बढाइएको छ। मन्त्रीपरिषद्ले पारित गरेको नयाँ नियम आगामी ३१ भदौदेखि लागू हुनेछ।
विभिन्न याम अनुसार सगरमाथा आरोहण शुल्क
पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि अप्रिल–मे महिना सबैभन्दा उत्तम समय मानिन्छ। सेप्टेम्बर–नोभेम्बरको कम आरोहण हुने याममा शुल्क ७,५०० अमेरिकी डलर रहनेछ भने डिसेम्बर–फेब्रुअरीको विरलै चढिने समयमा ३,७५० अमेरिकी डलर मात्र लाग्नेछ।
दस्तुर वृद्धिको कारण
सरकारले हिमाल आरोहण दस्तुर वृद्धि गर्नुका पछाडि मुख्यतः दुई कारण देखाएको छ। पहिलो, दस्तुर कम हुँदा अत्यधिक आरोही आकर्षित भई सगरमाथा र अन्य हिमाली क्षेत्रमा भिडभाड बढेको थियो। यसले वातावरण प्रदूषण र फोहोर व्यवस्थापन चुनौती थपेको थियो। दोस्रो, आरोही तथा पर्वतीय पथप्रदर्शकका लागि पारिश्रमिक, बिमा तथा अन्य सेवासुविधामा वृद्धि आवश्यक ठानेर दस्तुर समायोजन गरिएको हो।
सरकारको यो निर्णयले नेपालको पर्वतारोहण क्षेत्रमा कस्तो प्रभाव पार्नेछ भन्ने विषयमा आरोही समुदाय र पर्यटन व्यवसायीहरूबीच विभिन्न प्रतिक्रिया आउन थालेका छन्।