काठमाडौं । नेपाल पेट्रोलियम ढुवानी महासंघले बिहिबारदेखि सुरु गर्ने भनेको आन्दोलन तत्कालको लागि स्थगन भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मन्त्रीसहितको छलफलपछि आन्दोलन स्थगित गरिएको बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।
वार्ता मन्त्रालयका सहसचिब तथा नेपाल आयल निगमका सञ्चालक समिति सदस्य शिवराम पोखरेलको संयोजकत्वमा भएको थियो ।
पोखरेलको संयोजकत्वमा यातायात व्यवस्था विभागका प्रतिनिधि, निगमका दुई जना प्रतिनिधि, महासंघका दुई जना प्रतिनिधि र काठमाडौं विश्व विद्यालयको सम्बन्धित विषय विज्ञ सम्मिलित सात सदस्यीय अध्ययन कार्यदल गठन गर्ने सहमति भएको छ ।
यो कार्यदललाई १५ दिनभित्र अध्ययन गरी रायसुझावसहित प्रतिवेदन बुझाउन समय दिइएको छ ।
यस अघि महासंघले माघ २४ गते पत्रकार सम्मेलन मार्फत विभिन्न चरणमा आन्दोलन गर्ने चेतावनी दिएको थियो । महासंघले उठाएको जायज माग संबोधन गर्ने भन्दै सरकारले वार्ता समिति गठन गरेसँगै आन्दोलनका कार्यक्रमहरु स्थगन गरिएको हो ।