काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सर्वसाधारणको लगानीबाटै जलविद्युत् क्षेत्रको विकास सम्भव भएको बताएका छन् ।
मंगलबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले आइपिओमा लगानी गर्दा जोखिम देखिए पनि नियमन गरी सेयर खोल्नुपर्ने बताए।
विद्युत् प्राधिकरणले १२ हजारको विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) गरेको बताएका छन्। हाल ३५ सय मेगावाटका आयोजना सञ्चालन भए पनि हिउँदमा ११ सय मेगावाट मात्रै उत्पादन भएको छ।
उनले २८ हजार ५०० मेगावाट विद्युतका लागि विद्युत् प्राधिकरण अझै पिपिए खोल्ने पक्षमा रहेको बताए।
‘हाल पिपिए भएका सबै परियोजना निर्माणको चरणमा गएका छैनन्,’ कार्यकारी निर्देशक घिसिङले भने, ‘पिपिए गरी निर्माण नगर्ने, तर नयाँ पिपिए गर्नुपर्ने माग राख्नु कति उचित हो रु’
घिसिङले प्राधिकरणसँग पिपिए सम्झौता गरी आयोजना ओगटेर मात्रै राख्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताए। नेपाल सरकारले भारतसँग सम्झौता गरेको क्रसबोर्डर प्रसारणलाइन सञ्चालन हुँदा भारतलाई आम्दानीको ग्यारेन्टी गरेको छ।
नेपाल विद्युत् प्राधिकरण सात खर्बको सम्पत्ति राखेर बसेको भन्दै सर्वसाधारणका लागि प्राथमिक सेयर खोल्ने चरणमा रहेको बताए। प्राधिकरणले २० प्रतिशत सेयर जारी गर्ने तयारी गरिरहेको उनको भनाइ छ।