ग्यास उद्योगीहरुको आन्दोलन सुरु, पीडीओ खरिद गरेनन्

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले आफ्ना माग सम्बोधन नभएको भन्दै आइतबारदेखि आन्दोलन सुरु गरेको छ। संघले भारतबाट ग्यास आयात गर्न आवश्यक पर्ने प्रडक्ट डेलिभरी अर्डर (पीडीओ) खरिद बहिष्कार गर्ने निर्णय गरेको छ।

पीडीओ खरिद नगर्दा भारतबाट ग्यास आयात हुन सक्दैन, जसले गर्दा सिलिन्डरमा ग्यास भर्ने कार्य रोकिन्छ र बजारमा आपूर्ति प्रभावित हुन्छ। नेपाल आयल निगमका विराटनगर, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज, र धनगढीस्थित डिपो कार्यालयबाट पीडीओ जारी गरिने भए पनि आइतबार कति पीडीओ जारी भयो भन्ने तथ्यांक साँझ मात्र सार्वजनिक हुनेछ। सामान्य अवस्थामा दैनिक ८० देखि १०० पीडीओ जारी हुने गर्दछ, जसमा ७० प्रतिशत वीरगञ्ज डिपोबाट जारी हुने गरेको छ।

संघका अध्यक्ष शिव घिमिरेका अनुसार, सरकारले वार्तामा कुनै चासो नदेखाएको भन्दै उद्योगीहरूले आइतबारदेखि पीडीओ बहिष्कार गरेका हुन्। यसअघि सरकारले उद्योगीहरूको माग सम्बोधन गर्ने आश्वासन दिएर माघ ३० गते घोषित आन्दोलन १५ दिनका लागि स्थगित गराएको थियो। तर, सो अवधि सकिए पनि सरकारले कुनै ठोस कदम नचालेको भन्दै संघ पुनः आन्दोलनमा उत्रिएको हो।

खाना पकाउने ग्यास अत्यावश्यक वस्तु भएकाले सरकारले यसमा आन्दोलन गर्न नपाइने प्रावधान राखेको छ। तर, माग पूरा नभएसम्म उद्योगीहरूले आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार