बत्ती नजाँदै गयो भनेर आतंक फैल्याउनेलाई दण्डित गरिन्छ : उर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालमा आवश्यकताअनुसार विद्युत आपूर्ति भइरहेको र विद्युत कटौती अभावका कारण नभई विपद्जन्य घटनाले निम्त्याएको अवरोध भएको स्पष्ट पारेका छन् । आइतबार साँझ कुलेश्वरस्थित नो लाइट शाखा अन्तर्गतका विभिन्न स्थानमा देखिएको विद्युत आपूर्ति समस्या, उपभोक्ताको गुनासो तथा सम्भावित प्राविधिक कठिनाइबारे स्थलगत जानकारी लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खड्काले यस्तो बताएका हुन् ।

उनले सरकार उपभोक्ताले सुरक्षित र भरपर्दो विद्युत सेवा पाऊन् भन्ने चाहनाअनुसार काम गरिरहेको दाबी गर्दै कृत्रिम हल्ला र भ्रम फैलाएर बत्ती नभएको जस्तो अवस्था सिर्जना गर्न खोजिएको बताए । ‘बत्ती गइरहेको कुरा हामीसँग विद्युत कम भएर होइन, हावाहुरी, चट्याङजस्ता प्राकृतिक विपद्का कारण कतै अवरुद्ध हुन पुग्दा बत्ती रोकिने विषय हो,’ मन्त्री खड्काले भने, ‘यस्ता घटना विगतमा पनि हुन्थे, भोलि पनि मानिसको काबुबाहिरको अवस्थामा हुन सक्छन् । त्यस्तो अवरोधलाई सकेसम्म चाँडो सञ्चालनमा ल्याउने प्रयत्न भइरहेको छ ।’

नेपालले हाल विद्युत आयात गर्न नपरेको र स्वदेशकै उत्पादन बढी भइरहेको जिकिर गर्दै उहाँले विगतको भन्दा राम्रोसँग विद्युत आपूर्ति भइरहेकाले अनावश्यक हल्लाको पछि नलाग्न आम उपभोक्तालाई आग्रह गरेका छन् । ‘कृत्रिम कुराहरू प्रचार प्रसार गरिएको पाइन्छ, त्यस्तो अवस्था होइन । हामीले अहिले आयात गरेका छैनौँ, हाम्रो विद्युत बढी भइरहेको छ,’ उनले अगाडि भने, ‘आवश्यकताअनुसारको विद्युत सप्लाइ गर्न सकिरहेका छौँ । उपभोक्ता, देशवासीलाई आग्रह गर्दछु, हिजोभन्दा आज राम्रोसँग विद्युत सप्लाई भइरहेको छ । हल्लाका पछि नलाग्नुहोला ।’

मन्त्री खड्काले विद्युत आपूर्ति भइरहेको समयमा पनि बत्ती गयो भनेर जानाजान आतंक फैलाउने व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउने चेतावनीसमेत दिए । नो लाइट शाखामा विद्युत आपूर्ति भइरहे पनि नभएको भन्दै अनावश्यक फोन आउने गरेको र प्राविधिकहरूले क्रस चेक गर्दा बत्ती रहेको पाइएको उदाहरण दिँदै उजले त्यस्ता कार्य नगर्न सचेत गराए । ‘धेरैजसो अझै पनि फेक कलहरू आइरहेको कुरा गर्नुभएको छ,’ उनले भने, ‘उहाँहरूले (नो लाइट कर्मचारी) क्रस चेक गर्दा बत्ती नगएको पाइयो भन्नुभएको छ । कुनै कारणले अफवाह गरिरहेको हो भने र्‍यमर नगरिदिनुहुन आग्रह गर्न चाहन्छु । त्यस्ता टेलिफोन नम्बर नोट गरेर पुलिसकहाँ दिनुहोला । र्‍यमर गर्ने, आतंक फैल्याउने हिसाबले काम गर्नेलाई दण्डित पनि गरिन्छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार