काठमाडौं । सार्वजनिक संस्थानहरुले नोक्सानी बढे सँगै घाटा व्यहोर्नु परेको छ । ४३ वटा सञ्चालनमा रहेका संस्थानमध्ये २८ वटाले नाफा आर्जन गर्न सफल भएका छन् भने १५ वटा घाटामा छन्। आर्थिक वर्ष २०८०/८१ मा सार्वजनिक संस्थानको खुद नाफा रू. ४२ अर्ब ६२ करोड १६ लाख पुगेको छ, जुन गत समीक्षा अवधिको तुलनामा १२.८८ प्रतिशतले कम हो।
बिहीबार संसदको संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक संस्थानको वार्षिक स्थिति समिक्षा २०८२ सार्वजनकि गर्दै उक्त कुरा बताएका हुन् । प्रतिवेदन अनुरुप नोक्सानीमा रहेका संस्थानको खुद नोक्सानी रू.३ अर्ब ६३ करोड ६५ लाख रहेको छ । नाफामा रहेका संस्थानहरुको खुद नाफा गत आर्थिक वर्षको तुलनामा ११.५० प्रतिशतले घटेको छ भने नोक्सानीमा रहेका संस्थानहरुको खुद नोक्सानी गत वर्षको तुलनामा ८.६५ प्रतिशतले बढेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा सार्वजनिक संस्थानको कुल सञ्चित नाफा गत वर्षको तुलनामा ४१.०३ प्रतिशतले बढेर रू.९२ अर्ब ७२ करोड ३६ लाख पुगेको छ । सञ्चित नाफा सबैभन्दा धेरै रहेको सार्वजनिक संस्थान नेपाल दूरसञ्चार कम्पनी लिमिटेड हो, जसको सञ्चित नाफा रू.४८ अर्ब ३ करोड २९ लाख रहेको छ । क्षेत्रगत रूपमा हेर्दा जनोपयोगी क्षेत्रको सञ्चित नाफा सबैभन्दा धेरै रू.९४ अर्ब ७० करोड ८३ लाख पुगेको छ । क्षेत्रगत रूपमा सबैभन्दा धेरै सञ्चित नोक्सानी औद्योगिक क्षेत्रको रू. २१ अर्ब ७० करोड ७७ लाख रहेको छ ।
सार्वजनिक संस्थानबाट नेपाल सरकारलाई आर्थिक वर्ष २०७९/८० मा रू.१३ अर्ब ७५ करोड ६७ लाख लाभांश प्राप्त भएकोमा आर्थिक वर्ष २०८०/८१ मा रू.८ अर्ब ८३ करोड ५६ लाख प्राप्त भएको देखिएको छ । कुल सेयर लगानीको तुलनामा लाभांश अनुपात विश्लेषण गर्दा आर्थिक वर्ष २०८०÷८१ मा २.४ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा सार्वजनिक संस्थानको सेयर धनी कोष (नेटवर्थ) आर्थिक वर्ष २०७९÷८० को तुलनामा ४.७६ प्रतिशतले वृद्धि भई रु.१० खर्ब ३७ अर्ब ५८ करोड ४६ लाख पुगेको छ । समीक्षा अवधिमा ७ वटा संस्थानको सेयर धनी कोष ऋणात्मक रहेको छ । सबैभन्दा धेरै नेपाल वायुसेवा निगमको रू. ५ अर्ब ५३ करोड ५९ लाखले ऋणात्मक रहेको छ । सार्वजनिक संस्थानबाट प्राप्त वित्तीय विवरणअनुसार नेपाल सरकारलाई आर्थिक वर्ष २०८०/८१ मा विभिन्न शीर्षकमा रू.१ खर्ब ८३ अर्ब ४३ करोड ८० लाख प्राप्त हुनुपर्ने देखिन्छ जसमध्ये आयकर रू.१४ अर्ब ६३ करोड, मूल्य अभिवृद्धि कर रू.५२ अर्ब २० करोड, अन्तः शुल्क रू.३७ अर्ब ४१ करोड रहेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा सार्वजनिक संस्थानमा कुल ३४ हजार ९ सय ५१ जना जनशक्ति कार्यरत छन्, जसमा क्षेत्रगत रूपमा सबैभन्दा बढी १४ हजार ६ सय ७४ जना जनोपयोगी क्षेत्रमा र सबैभन्दा कम १ हजार २ सय ८० जना सामाजिक क्षेत्रमा कार्यरत रहेका छन् । सार्वजनिक संस्थानको कुल प्रशासनिक खर्च (कर्मचारी खर्च समेत) रू.४४ अर्ब २६ करोड ६२ लाख रहेको छ, जुन गत समीक्षा अवधिको तुलनामा ०.५५ प्रतिशतले बढी हो ।
यस समीक्षा अवधिमा आर्थिक वर्ष २०८०/८१ सम्मको लेखा परीक्षण सम्पन्न गर्ने सार्वजनिक संस्थान २१ वटा रहेका छन् भने ३४ वटा संस्थानले आर्थिक वर्ष २०७९/८० सम्मको लेखा परीक्षण सम्पन्न गरेका छन्। यस समीक्षा अवधिमा पनि वित्तीय अनुशासन पालना कमजोर रहेको देखिएको छ ।
आर्थिक वर्ष २०८०/८१ मा कोषमा व्यवस्था नगरिएको दायित्व गत समीक्षा अवधिको तुलनामा १८.४३ प्रतिशतले वृद्धि भई रु. ६२ अर्ब ६१ करोड ३१ लाख पुगेको छ भने सम्भावित दायित्व १८.१२ प्रतिशतले वृद्धि भई रू.२१ खर्ब २६ अर्ब २२ करोड २० लाख पुगेको छ ।

