CLI

नेपाल टेलिकम बन्यो सार्वाधाकि नाफा कमाउने सार्वजनिक संस्थान

काठमाडौं । सार्वजनिक संस्थान मध्ये सबैभन्दा बढी नाफा कमाउने संस्था नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल टेलिकम बनेको छ । बिहीबार संसदको संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक संस्थानको वार्षिक स्थिति समिक्षा २०८२ सार्वजनकि गर्दै उक्त कुरा बताएका हुन् ।

प्रतिवेदन अनुरुप आर्थिक वर्ष २०८०/८१ मा सार्वजनिक संस्थानको कुल सञ्चित नाफा गत वर्षको तुलनामा ४१.०३ प्रतिशतले बढेर रू.९२ अर्ब ७२ करोड ३६ लाख पुगेको छ । सञ्चित नाफा सबैभन्दा धेरै रहेको सार्वजनिक संस्थान नेपाल दूरसञ्चार कम्पनी लिमिटेड हो, जसको सञ्चित नाफा रू.४८ अर्ब ३ करोड २९ लाख रहेको छ । क्षेत्रगत रूपमा हेर्दा जनोपयोगी क्षेत्रको सञ्चित नाफा सबैभन्दा धेरै रू.९४ अर्ब ७० करोड ८३ लाख पुगेको छ । क्षेत्रगत रूपमा सबैभन्दा धेरै सञ्चित नोक्सानी औद्योगिक क्षेत्रको रू. २१ अर्ब ७० करोड ७७ लाख रहेको छ ।

सार्वजनिक संस्थानबाट नेपाल सरकारलाई आर्थिक वर्ष २०७९/८० मा रू.१३ अर्ब ७५ करोड ६७ लाख लाभांश प्राप्त भएकोमा आर्थिक वर्ष २०८०/८१ मा रू.८ अर्ब ८३ करोड ५६ लाख प्राप्त भएको  देखिएको छ । कुल सेयर लगानीको तुलनामा लाभांश अनुपात विश्लेषण गर्दा आर्थिक वर्ष २०८०/८१ मा २.४ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा सार्वजनिक संस्थानको सेयर धनी कोष (नेटवर्थ) आर्थिक वर्ष २०७९/८० को तुलनामा ४.७६ प्रतिशतले वृद्धि भई रु.१० खर्ब ३७ अर्ब ५८ करोड ४६ लाख पुगेको छ । समीक्षा अवधिमा ७ वटा संस्थानको सेयर धनी कोष ऋणात्मक रहेको छ । सबैभन्दा धेरै नेपाल वायुसेवा निगमको रू. ५ अर्ब ५३ करोड ५९ लाखले ऋणात्मक रहेको छ ।

सार्वजनिक संस्थानबाट प्राप्त वित्तीय विवरणअनुसार नेपाल सरकारलाई आर्थिक वर्ष २०८०/८१ मा विभिन्न शीर्षकमा रू.१ खर्ब ८३ अर्ब ४३ करोड ८० लाख प्राप्त हुनुपर्ने देखिन्छ जसमध्ये आयकर रू.१४ अर्ब ६३ करोड, मूल्य अभिवृद्धि कर रू.५२ अर्ब २० करोड, अन्तः शुल्क रू.३७ अर्ब ४१ करोड रहेको छ ।

Leave Your Comment

Related News