काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) प्रक्रिया अघि बढाएका ५१ जलविद्युत् कम्पनीसँग ४ दिनभित्र आवश्यक विवरण बुझाउन निर्देशन दिएको छ।
प्राधिकरणको ९९४औँ सञ्चालक समितिको निर्णयअनुसार कनेक्सन एग्रिमेन्ट सम्पन्न गरिसकेका आयोजनाहरूसँग प्राथमिकता निर्धारणका लागि विभिन्न अध्ययन गर्न लागिएको हो। सोहीअनुसार कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राथमिकता सूची तयार गर्न निर्देशन दिएका छन्।
प्राधिकरण अन्तर्गतको व्यवसाय विकास निर्देशनालयका उपकार्यकारी निर्देशकको संयोजकत्वमा कमिटी गठन गरिएको छ। उक्त कमिटीले कार्यकारी निर्देशकलाई प्रतिवेदन बुझाउनुपर्ने भएकाले ५१ प्रवर्द्धक कम्पनीलाई आयोजनासम्बन्धी विस्तृत विवरण पेश गर्न पत्र पठाइएको हो।
प्राधिकरणले आयोजनाहरू राष्ट्रिय निकुञ्ज वा आरक्षित क्षेत्रमा पर्छन् कि पर्दैनन्, संक्षिप्त प्रगति विवरण, जेनेरेसन लाइसेन्स, वित्तीय व्यवस्थापनको अवस्था, निर्माणस्थल र वातावरणीय अध्ययनसम्बन्धी जानकारी ४ दिनभित्र पेश गर्न भनेको छ।
यता सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत ‘टेक एन्ड पेको’ नीति अघि सारेकोमा ऊर्जा प्रवर्द्धकहरू भने असन्तुष्ट देखिएका छन्। तर विद्युत् प्राधिकरणले भने पीपीए प्रक्रिया अघि बढाउन प्रतिबद्धता देखाएको छ।
प्राधिकरणको यो कदमले लामो समयदेखि प्रतीक्षारत जलविद्युत् आयोजनाहरूको भविष्यमा नयाँ गति दिने अपेक्षा गरिएको छ।


