जगदुल्लाको हाइड्रोपावरको ठेक्कामा अनियमितता भएको छैन : ऊर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जगदुल्ला हाइड्रोपावरको ठेक्कामा कुनै पनि अनियमितता नभएको दाबी गरेका छन् । सोमबार प्रतिनिधिसभामा मन्त्रालयको बजेट र सांसदहरूले जगदुल्ला हाइड्रोपावरको ठेक्कामा अनियमितता भएको विषयमा जवाफ माग गरेकोमा उनले संसदमा जवाफ दिने क्रममा उक्त दाबी गरेका हुन् ।

ऊर्जामन्त्री खड्कालाई प्रमुख प्रतिपक्ष दलका सांसदहरुले जगदुल्ला हाइड्रोपावरको ठेक्कामा अनियमितता गरेको भन्दै जवाफको माग गरेका थिए । मन्त्री खड्काले संसदमा उक्त विषयमा मन्त्रालयको संलग्न नभएको भन्दै जगदुल्ला हाइड्रोपावर कम्पनीले नै सबै प्रक्रिया पूरा गरी ठेक्का अवार्ड गरेको जवाफ दिए ।

उनले कम्पनीको ठेक्काको काम कम्पनीले गर्ने भएकाले मन्त्रालयले कुनै हस्तक्षेप नगरेको बताए । ‘विभिन्न सञ्चार माध्यममा आएका समाचार र उजुरीपछि चासो राखेका थियौँ,’ उनले भने,‘ ठेक्काका लागि चार वटाले इच्छा देखाएको, दुईवटा पास भएको र तीमध्ये कम पैसामा काम गर्छु भन्नेले पाएको हो। यो प्रक्रियागत रूपमा काम भएको उहाँहरूले भन्नुभएको छ ।’

मन्त्री खड्काले ठेक्का आफूले नपाउनेहरूले विभिन्न ठाउँमा पुगेको र रद्द हुँदा पाइन्छ भनेर विभिन्न ठाउँमा उजुरी दिएको दाबी गरे । उनले कम्पनी ठेक्का अनलाइन प्रणालीमा हुने भएकाले मन्त्रालयले चलखेल गर्न सम्भवै नभएको उल्लेख गरे । जगदुल्ला हाइड्रोपावरको ठेक्का प्रक्रिया विवादित भएको भन्दै संसद्को लेखा समितिले समेत तत्काल रोक्न निर्देशन जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार