काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले जारी हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरेको छ। अब कम्पनीको हकप्रद शेयरमा असार २७ गतेसम्म आवेदन दिन सकिने भएको छ।
यसअघि कम्पनीले जेठ २३ गतेदेखि हकप्रद बिक्री खुला गरेको थियो। कम्पनीले हाल कायम चुक्तापुँजीको १:१ को अनुपातमा शतप्रतिशत हकप्रद शेयर निष्काशन गरिरहेको छ। यस अनुसार, कुल ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँ बराबरको ३८ लाख ६९ हजार ७ सय ७५ कित्ता हकप्रद शेयर निष्काशन गरिएको हो।
हकप्रद शेयर निष्काशनको प्रक्रिया संचालन गर्न कम्पनीले ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।
कम्पनीले हकप्रद निष्काशनका लागि जेठ २ गते बुक क्लोज गरेको छ। तसर्थ, जेठ १ गतेसम्म कायम रहेका शेयरधनीहरूले मात्र आवेदन दिने योग्य छन्।
यसअघि, नेपाल धितोपत्र बोर्डले वैशाख १२ गते कम्पनीलाई हकप्रद शेयर निष्काशनको अनुमति दिएको थियो।

