काठमाडौं । साङ्ग्रिला इन्टरनेशनल फ्रेट प्रालि (एसआईएफएल) अग्रणी अन्तर्राष्ट्रिय फ्रेट फर्वार्डिङ कम्पनी डीएसभीको नेपालको एकमात्र आधिकारिक एजेन्ट र उपाय सिटी कार्गो प्रालि (उपाय), नेपालकै भरपर्दो प्रविधिमा आधारित ढुवानी सेवा प्रदायकबिच साझेदारी स्थापनाको उद्देश्यले काठमाडौंमा आयोजित एक कार्यक्रममा समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।
यो साझेदारीले नेपालको ढुवानी क्षेत्रलाई नयाँ उचाइमा पुऱ्याउने अपेक्षा गरिएको छ । जसमा डीएसभीसँगको विशेष सहकार्यद्वारा सशक्त एसआईएफएलको अन्तर्राष्ट्रिय फ्रेट क्षमता र उपायको बलियो स्थानीय सञ्जाल एक आपसमा जोडिनेछ । उक्त सम्झौताअनुसार, नेपाल भित्रको सबै ढुवानी, डेलिभरी, र स्थानीय वेयरहाउस व्यवस्थापनको जिम्मेवारी उपायले लिनेछ, भने एसआईएफएलले अन्तर्राष्ट्रिय फ्रेट फरवर्डिङ, भन्सार समन्वय, र विश्वव्यापी ढुवानी व्यवस्थापनको नेतृत्व गर्नेछ ।
यो साझेदारी दुवै कम्पनीको बलियो पक्षलाई एकीकृत गरी व्यवसायहरूलाई एन्ड-टु-एडव दिने अवसर भएको एसआईएफएलका अध्यक्ष कुमार दाहालले बताए। ‘उपायसँगको सहकार्यले हाम्रो सेवा क्षमतालाई अजै बलियो बनाउनेछ,’ अध्यक्ष दाहालले भने ।
डीएसभी डेनमार्कमा मुख्यालय भएको, विश्वको एक प्रमुख लजिस्टिक्स तथा ट्रान्सपोर्ट सेवा प्रदायक कम्पनी हो, जसले ९० भन्दा बढी देशहरूमा हवाई, समुद्री, सडक यातायात तथा गोदा व्यवस्थापन सेवा प्रदान गर्दछ । डीएसभीको नेपालस्थित एकमात्र एजेन्टको रूपमा, एसआईएफएलले उच्च मूल्य र संवेदनशील मालसामानका लागि समेत गुणस्तरीय अन्तर्राष्ट्रिय लजिस्टिक्स सेवा सुनिश्चित गर्छ ।
उपाय सिटी कार्गोका प्रबन्ध निर्देशक तथा सह-संस्थापक सुमन रायमाझीले भने, ‘हामी एसआईएफएलका लागि नेपालको आधिकारिक ढुवानी साझेदार बन्न पाउँदा अत्यन्त उत्साहित छौं। यो सहकार्यले हाम्रो सेवा लाई थप विस्तार मात्र होइन, अन्तर्राष्ट्रिय डेलिभरी आवश्यकता भएका ग्राहकहरुलाई अझ प्रभावकारी सेवा दिने अवसर समेत प्रदान गर्दछ ।’

