झापा इनर्जीको आइपीओमा आवेदन दिनुअघि कस्तो छ कम्पनी ? हेरौं

काठमाडौं । झापा इनर्जी लिमिटेडले भदौ २० गते शुक्रबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्दैछ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा ४ करोड ७३ लाख ३३ हजार रुपैयाँ बराबरको ४ लाख ७३ हजार ३३६ कित्ता सेयर निष्कासन गर्न लागेको हो । झापाले यसअघि जारी पुँजी ३८ करोड १ लाख रुपैयाँको १० प्रतिशतले हुने ३ करोड ८० लाख रुपैयाँ बराबरको ३ लाख ८० हजार कित्ता आइपीओ आयोजना प्रभावित स्थानीयलाई बिक्री गरिसकेको छ ।

यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई पनि ५७ हजार २९ कित्ता आइपीओ निष्कासन गरिसकेको छ । यस आइपीओमा भदौ २४ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा नबिकेमा असोज ३ गतेसम्म आवेदन दिन पाइनेछ । यो आइपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन पाइनेछ । यस आइपीओको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।

कस्तो छ रेटिङको अवस्था ?

आइपीओ निष्कासनको लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी आइआर बी माइनस’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

कति कित्ताका लागि दिने आवेदन ?

झापा इनर्जीको आइपीओ पाउन लगानीकर्ताले भाग्यकै भर पर्नुपर्ने देखिएको छ । कम्पनीले सर्वसाधारणका लागि ४ लाख ७३ हजार कित्ता मात्र सेयर निष्कासन गरेको छ । यसआधारमा झापा इनर्जीको आइपीओ न्यूनतम १० कित्ताका दरले बाँडफाँट गर्दा ४७ हजार ३३३ जनाले मात्र सेयर हात पार्नेछन् ।

यसआधारमा हेर्ने हो भने यो आइपीओमा पनि १० कित्ताका लागि आवेदन दिँदा पर्याप्त हुने देखिन्छ । यद्यपि, कम्पनीले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।

आयोजना सम्बन्धी विवरण

झापा इनर्जी कम्पनी ऐन, २०६३ अन्तर्गत स्थापित भएको हो । यस कम्पनीको रजिष्टर्ड कार्यालय विर्तामोड वडा नं.४, झापामा रहेको छ । यस कम्पनीको कारोबार गर्ने मुख्य स्थान कम्पनीको रजिष्टर्ड कार्यालय विर्तामोड वडा नं.४, झापा, तथा सौर्य उर्जा उत्पादन केन्द्र शिवसताक्षी नगरपालिका वडा नं.४ मा रहेको छ ।

संगठित संस्थाको स्थापना कालदेखि हालसम्मको संक्षिप्त इतिहास र संगठित संस्थाको मुख्य उद्देश्यहरुः

सौर्य उर्जा आयोजनाको विकास, निर्माण र संचालन गर्ने मुख्य उद्देश्यका साथ कम्पनी ऐन, २०६३ बमोजिम मिति २०७५ आश्विन महिना ६ गते, नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भई संचालनमा रहेको छ ।

संगठित संस्थाले सौर्य उर्जा, जलविद्युत तथा अन्य उर्जा सम्बन्धि आयोजना निमार्ण, उत्पादन, बिक्री वितरण सम्बन्धी विभिन्न कार्यहरु गर्ने छ । कम्पनीले झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नं. ४ मा १० मेगावाट क्षमताको ग्रीडमा आवद्ध सौर्य विद्युत आयोजना, शिवसताक्षी, झापा निर्माण गरी संचालन गरी रहेको छ ।

पुँजी संरचना र वित्तीय प्रक्षेपण

कम्पनीको अधिकृत पुँजी ४० करोड रुपैयाँ रहेको छ । यसको जारी पुँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँ छ । कम्पनीको चुक्ता पुँजी २८ करोड ५१ लाख ४२ हजार रुपैयाँ रहेको छ । आइपीओ निष्कासनपछि संस्थापक सेयरधनीको हिस्सा ७५ प्रतिशत र आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाको हिस्सा १० प्रतिशत र सर्वसाधारण समूहको हिस्सा १५ प्रतिशत रहनेछ ।

कम्पनीले आर्थिक वर्ष २०८३–८४ सम्म पुँजी बढाउने कुनै योजना बनाएको छैन । उक्त आवसम्म आइपीओ बिक्रीपछि कायम हुने ३८ करोड १ लाख रुपैयाँ पुँजी नै यथावत् रहनेछ । चालु आर्थिक वर्षको अन्त्यसम्म २ करोड ९२ लाख रुपैयाँ नाफा कमाउने वित्तीय प्रक्षेपणमा उल्लेख गरेको छ । त्यस्तै, २०८३—८४ मा ३ करोड ५२ लाख रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको छ ।

यता, चालु आर्थिक वर्षको अन्त्यसम्म प्रतिसेयर आम्दानी ७.६९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १०३.०७ रुपैयाँ पुग्ने प्रक्षेपण छ । आर्थिक वर्ष २०८३–८४ सम्ममा प्रतिसेयर आम्दानी ९.३० रुपैयाँ पुग्ने र प्रतिसेयर नेटवर्थ ११२.३४ रुपैयाँ पुग्ने प्रक्षेपण छ ।

आइपीओ जारी गर्नुको उद्देश्य

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा व्यवस्था भए अनुसार जारी पुँजीको २५ प्रतिशत अर्थात, ९ करोड ५० लाख रुपैयाँ बराबरको ९ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणहरुको (आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि छुट्टयाइएको समेत) निमित्त छुटयाईएको कम्पनीले जनाएको छ ।

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री गरी स्थानीय बासिन्दाहरुलाई लगानीको अवसर दिन, निष्कासनबाट प्राप्त रकम आयोजनाको कर्जा भुक्तानीका लागि प्रयोग गर्न र प्रबन्धपत्रमा तोकिए बमोजिमको पुँजी संरचना कायम गर्न र आयोजना निर्माणकालागि लाग्ने खर्चको रकमको व्यवस्था गर्न यस कम्पनीले आइपीओ जारी गर्न लागेको झापा इनर्जीले जनाएको छ ।

वित्तीय अवस्था

गत आर्थिक वर्षको चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको सञ्चित नाफा १ करोड ३१ लाख रुपैयाँ ऋणात्मक रहेको छ । सो अवधिसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ९५.४० रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको सञ्चित नाफा ३ लाख ४८ हजार रुपैयाँ थियो । सो अवधिसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १००.१२ रुपैयाँ र प्रतिसेयर आम्दानी ५० पैसा थियो । यस कम्पनीको प्रतिमेगावाट लागत ८.७९ करोड रुपैयाँ छ ।

आयोजनाको तस्बिर :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार