CLI

गणपति सिमेन्ट इन्डस्ट्रीजमा नयाँ लगानीकर्ता समूहको आगमन, पुनः सञ्चालनका लागि तयारी तीव्र

काठमाडौं । शिवराज–६ कपिलवस्तुमा अवस्थित गणपति सिमेन्ट इन्डस्ट्रीज प्रा. लि. मा नयाँ लगानीकर्ता समूहको प्रवेशसँगै उद्योगलाई पुनः पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी तीव्र गतिमा अघि बढेको छ।

कम्पनीका अध्यक्ष अर्जुन चौलागाईको नेतृत्वमा बनेको नयाँ लगानीकर्ता समूहले उद्योगलाई पुनर्जीवित गर्ने लक्ष्य लिएको हो। अध्यक्ष चौलागाईसँगै संयुक्त राज्य अमेरिका निवासी एनआरएन विषम पाण्डे र नेपालमा व्यवसायिक रूपमा सक्रिय शालिक पाठकले उद्योगमा नयाँ ऊर्जा, लगानी र दीगो सञ्चालनको दृष्टिकोणसहित सहकार्य थालेका छन्।

विगत केही वर्षदेखि सीमित क्षमतामा सञ्चालनमा रहेको गणपति सिमेन्टलाई अब पूर्ण क्षमतामा पुनः सञ्चालनमा ल्याउने कार्ययोजना अघि बढाइएको कम्पनीका अध्यक्ष चौलागाईले जानकारी दिए। उनका अनुसार कम्पनीले निकट भविष्यमै “विनायक” र “गणपति” ब्रान्डका सिमेन्ट उत्पादन गरी प्रमुख सहरहरूमा बजार विस्तार गर्ने योजना बनाएको छ।

अध्यक्ष चौलागाईले भने,“नेपालमा निर्माण र पूर्वाधार विकासका चुनौतीबीच पनि हामीले गणपति सिमेन्टलाई पुनः सञ्चालनमा ल्याई देशको निर्माण क्षेत्रमा योगदान पुर्‍याउने दृढ संकल्प लिएका छौं। नयाँ लगानी समूहको सहभागितासँगै कम्पनीले गुणस्तरीय उत्पादन, स्थायी रोजगारी र स्वदेशी उद्योगको सुदृढीकरणमा जोड दिनेछ।”

उद्योगको पुनः सञ्चालनसँगै कपिलवस्तु तथा आसपासका क्षेत्रमा रोजगारीका अवसर सिर्जना, स्थानीय उत्पादन प्रवर्द्धन र स्वदेशी ब्रान्डको सुदृढ उपस्थिति सुनिश्चित हुने कम्पनीको विश्वास छ।
कम्पनीले आगामी दिनमा उत्पादन क्षमता विस्तार, गुणस्तर सुधार र दीगो बजार सञ्जाल निर्माणलाई प्रमुख प्राथमिकतामा राख्ने जनाएको छ।

Leave Your Comment

Related News