CLI

सिरियामा शान्तिको सङ्केत : सरकार र एसडीएफबीच सहमति

रक्का (सिरिया) ।  सिरियाली सरकारले कुर्द नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्सेस (एसडीएफ) सँग युद्धविरामको घोषणा गरेको छ, जसलाई देशको एकता र स्थायित्वतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ । यस सम्झौतिपछि सरकारी सेनाले रक्का र देइर एजÞ–जोरलगायत रणनीतिक क्षेत्रहरूमा नियन्त्रण बढाएको छ भने एसडीएफले रक्तपात रोक्न ती क्षेत्रहरूबाट आफ्ना लडाकु फिर्ता गर्ने सहमति जनाएको छ । रक्षा मन्त्रालयले सम्झौतिसँगै सबै मोर्चामा तत्काल लडाइँ रोक्न आदेश दिएको छ ।

यो युद्धविराम यस महिनाको सुरुआतमा पूर्वी अलेप्पो क्षेत्रमा सरकारी सेना र एसडीएफबीच भएको भीषण झडपपछि आएको हो । त्यस झडपले स्थिति थप तनावग्रस्त बनेको थियो र हजारौँ नागरिक विस्थापित भएका थिए । सम्झौता अघि दुबै पक्षले एकअर्कामाथि सहमति उल्लङ्घन गरेको आरोप लगाउँदै आएका थिए, जसका कारण मार्चमा भएको एकीकरण सम्झौता प्रभावकारी हुन सकेको थिएन ।

राष्ट्रपति अहमद अल–शाराआले सम्झौतामा हस्ताक्षर गर्दै यसलाई सबै सिरियालीहरूको जित भएको बताए । उनले देशलाई विभाजन र द्वन्द्वबाट निकालेर एकता, सुरक्षा र विकासतर्फ लैजाने प्रतिबद्धता व्यक्त गरे । सम्झौतिअनुसार एसडीएफलाई क्रमशः विघटन गरी उसका लडाकुहरूलाई सिरियाली सेना र सुरक्षा निकायमा समाहित गरिनेछ भने उसका वरिष्ठ अधिकारीहरूलाई राज्य संरचनामा जिम्मेवारी दिइनेछ ।

अमेरिकी दूत टम बाराकले यो सम्झौताले एकीकृत सिरियातर्फ संवाद र सहकार्यको नयाँ ढोका खोलेको बताएको छ । उनका अनुसार यो युद्धविराम दीर्घकालीन शान्ति स्थापना गर्ने दिशामा महत्वपूर्ण मोड हो । यसैबीच, रक्का शहरमा सरकारी सेनाको प्रवेशपछि स्थानीय बासिन्दाहरूले उत्सव मनाएका छन् भने कुर्द बहुल क्षेत्र कामिश्लीमा भने सम्झौताप्रति आशा र आशङ्का दुवै देखिएको छ ।

Leave Your Comment

Related News