काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले स्थानीय वासीका लागि साधारण (शेयर आइपीओ) मा आवेदन दिने समय बढाएको छ । पुस २२ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने अवधि लम्बिएको हो। कम्पनीको आईपीओमा अब माघ २१ गतेसम्म आवेदन दिन सकिनेछ।
कम्पनीले जारी पूँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये १५ करोड ५० लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १५ लाख ५० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमध्ये ४० प्रतिशत अर्थात ६ लाख २० हजार कित्ता साधारण शेयर लमजुङ जिल्लाको आयोजना प्रभावित क्षेत्र मर्स्याङ्दी गाउँपालिकाको वडा नं। २ र ३ का स्थानिय बासिन्दाहरुमा बाँडफाँट गरिनेछ भने बाँकी ६० प्रतिशत अर्थात ९ लाख ३० हजार कित्ता साधारण शेयर मर्स्याङ्दी गाउँपालिका वडा नं। १, ४, ५, ६, ७, ८ र ९ का स्थानिय बासिन्दाहरुमा बाँडफाँट गरिनेछ।
कम्पनीले सञ्चालन गरेको २६ मेगावाटको माथिल्लो खुदी जलविद्युत आयोजनाको कुल लागत ५ अर्ब ३८ करोड ४ लाख ११ हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २० करोड ६९ लाख ३८ हजार रुपैयाँ रहेको छ। सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र २७ वर्ष ५ महिना बाँकी रहेको छ। यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७।२१ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १३.४२ वर्ष रहेको छ।


