बक्यौदा नतिरेको भन्दै विद्युत प्राधिकरणले अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सको लाइन काट्यो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले तीन उद्योगको विद्युत लाइन काटेको छ । प्राधिकरणले मंगलबार राति विद्युत बक्यौता बापतको रकम नतिरेको भन्दै तीन उद्योगहरूको लाइन काटेको हो ।

लाइन काटिने उद्योगहरुमा अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्स रहेको छ ।

जसमा अर्घाखाँची सिमेन्टको ४४ करोड ८६ लाख रुपैयाँ, घोराही सिमेन्टको ५१ करोड रुपैयाँ र रिलायन्स स्पिनिङ मिल्सको ७५ करोड ३७ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

यी उद्योगहरुले २०७२ साल माघ महिनादेखि २०७५ साल वैशाखसम्म लोडसेडिङ कायम रहेको अवधिको प्रिमियम महसुल नतिरेको प्राधिकरणको भनाइ छ ।

यसअघि प्राधिकरणले बक्यौता नतिरेको भन्दै ६१ वटा उद्योगको लाइन काटेको थियो । तर, सरकारले उद्योगीहरुको दवाबपछि डेडिकेटेड र ट्रंकलाइन महसुल समस्या समाधानका लागि आयोग बनाएपछि लाइन पुनः जोडिएको थियो ।

त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहालको सक्रियतामा मन्त्रिपरिषद्ले पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा न्यायिक आयोग गठन गरेको थियो ।

सरकारले आयोगको निर्णय कार्यान्वयन गर्न विद्युत् प्राधिकरणलाई निर्देशन समेत दिएको थियो । तर, विद्युत् प्राधिकरणले लाल आयोगले दिएको सुझाव तथा मन्त्रिपरिषद्ले दिएको निर्देशन विपरीत हुनेगरी उद्योगीलाई महशुल शुल्क तिर्न पत्र पठाएको भन्दै मंगलबार उद्योगीहरूले पत्रकार सम्मेलन मार्फत गुनासो गरेका थिए ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार