CLI

कालिन्चोक हाइड्रोपावरको आइपीओ बिक्री खुला, कस्तो छ कम्पनी ? हेरौं

काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेडको आइपीओ बिक्री खुला रहेको छ । कम्पनीले चैत २२ गतेदेखि आइपीओ बिक्री खुला गरेको हो । यसले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आइपीओ बाँडफाँट पश्चात दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर जारी गरेको हो ।

कम्पनीले आफ्नो जारी पुँजी ५५ करोडको २५ प्रतिशत अर्थात् १३ करोड ७५ लाख रुपैयाँको प्रति सेयर अंकित मूल्य १०० रुपैयाँ दरको १३ लाख ७५ हजार कित्ता साधारण सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये, ५ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुलाई बाँडफाँट गरिसकेको छ ।

८२ हजार ५०० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि, ४१ हजार २५० कित्ता साधारण सेयर सामूहिक लगानी कोषहरुलाई र १६ हजार ५०० कित्ता सेयर कम्पनीका कर्मचारीलाई छुट्याइएको छ । बाँकी रहेको ६ लाख ८४ हजार ७५० कित्ता सेयर सर्वसाधारणका बिक्री खुला गरेको हो ।

यो निष्कासन बन्द छिटोमा चैत २५ गते हुनेछ भने ढिलोमा वैशाख ६ गते हुनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

कस्तो छ रेटिङको अवस्था ?

कालिन्चोक हाइड्रोपावर लिमिटेडलाई केयर रेटिङ्ग नेपाल लिमिटेडले “[CARE-NP BB (Pronouched CARE NP Issuer Rating Double B )” रेटिङ्ग प्रदान गरको छ । “[CARE-NP BB (Pronouched CARE NP Issuer Rating Double B ) ” ले कम्पनीको वित्तिय दायित्व बहन गर्न क्षमता औसत जोखिम “Moderate Risk of Default Regarding Timely Servicing of Financial Obligations” जनाउँदछ ।

कति कित्ताका लागि दिने आवेदन ?

कालिन्चिकको सेयर पाउन लगानीकर्ताले भाग्यकै भर पर्नुपर्ने देखिएको छ । कम्पनीले सर्वसाधारणका लागि ६ लाख ८४ हजार ७५० कित्ता मात्र सेयर निष्कासन गरेको छ । १० कित्ताका दरले आइपीओ बाँडफाँट गर्दा ६८ हजार ४७५ जनाले मात्र सेयर हात पार्नेछन् । यसआधारमा हेर्ने हो भने यो आइपीओमा १० कित्ताका लागि आवेदन दिँदा पर्याप्त हुने देखिन्छ । यद्दपि, कम्पनीले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।

आयोजना सम्बन्धी विवरण

कालिन्चोक हाइड्रोपावर लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत स्थापित भएको हो । यस संस्थाको रजिष्टर्ड कार्यालय काठमाण्डौ जिल्ला, काठमाण्डौ महानगरपालिका वडा नं. ३, रानीबारी, काठमाण्डौमा रहेको छ । कम्पनीको कारोवार गर्ने मुख्य स्थान कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौ जिल्ला, काठमाण्डौ महानगरपालिका वडा नं. ३, रानीबारी, काठमाण्डौ र आयोजना स्थल ( जलविद्युत केन्द्र) दोलखा जिल्ला, बिगु गाउँपालिका वडा नं. ८ तथा कालिन्चोक गाउँपालिका वडा नं. १ मा अवस्थित रहेको छ ।

संगठित संस्थाको स्थापना कालदेखि हालसम्मको संक्षिप्त इतिहास र संगठित संस्थाको मुख्य उद्देश्यहरु :

कालिन्चोक हाइड्रोपावर २०७२ चैत २६ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई २०७९ असार १ गते कम्पनी रजिष्ट्रारको कार्यालयको निर्णय अनुसार प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेडको रुपमा परिणत भएको हो ।

कालिन्चोकले २०७९ असार २१ गतेदेखि कारोबार सञ्चालन गर्दै आएको कम्पनी हो । कम्पनीमा हाल ११२ जना संस्थापक सेयरधनी रहेका छन् । कम्पनीको प्रबन्धपत्र तथा नियमावली अनुसार जारी पुँजीको ७५ प्रतिशत संस्थापक सेयर, १० प्रतिशत अर्थात ५ लाख ५० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दा र बाँकी १० प्रतिशत सर्वसाधारण (वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोष सहित) का लागि छुट्याई बाँडफाँड गर्ने व्यवस्था रहेको छ ।

धितोपत्र जारी गर्नुको उद्देश्य :

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा भएको व्यवस्था अनुसार साधारण सेयर सर्वसाधारणहरुमा निष्काशन गरी कम्पनीको पुँजी ५५ करोड पुर्याउनेका लागि सेयर जारी गरिएको हो । त्यस्तै, निष्कासनबाट आएको रकम आयोजनाको उर्जा वृद्धिका लागि प्रयोग गर्ने, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री गरी स्थानीय बासिन्दाहरुलाई लगानीको अवसर दिने, निष्कासनबाट प्राप्त रकम आयोजनाको आयोजनाको निर्माणमा प्रयोग गर्ने र कम्पनीको वित्तीय एवम् आर्थिक गतिविधिहरुलाई विस्तार गर्न आवश्यक पर्ने पुँजीको व्यवस्था गर्नेका लागि आइपीओ जारी गरेको जनाएको छ ।

निष्कासनबाट प्राप्त हुने कूल रकमलाई प्रयोग गर्ने क्षेत्र सम्बन्धी विवरणः

कम्पनीले आइपीओ निष्काशनबाट प्राप्त हुने कुल रकममध्ये १३ करोड ७५ लाख रुपैयाँ इलेक्ट्रोमेकानिकल सामाग्री खरिद गर्ने, हाइड्रोमेकानिकल सामाग्री खरिद गर्न, कार्यालय सवारि (केन्द्रिय कार्यालय) खरिद गर्न, नयाँ साइट कार्यालय क्याम्प र सिभिल कन्सट्रक्सन सम्बन्धी खर्च गर्न प्रयोग गर्नेछ ।

वित्तीय अवस्था

कम्पनीको अधिकृत पुँजी र जारी पुँजी ५५ करोड रुपैयाँ रहेको छ । यसको हालको चुक्ता पुँजी ४१ करोड २५ लाख रुपैयाँ छ । कम्पनीले आर्थिक वर्ष २०८४–८५ सम्म पुँजी बढाउने कुनै योजना बनाएको छैन । उक्त समयसम्म आइपीओ बिक्रीपछि कायम हुने ५५ करोड रुपैयाँ पुँजी नै यथावत् रहनेछ ।

गत आर्थिक वर्षमा कम्पनीले २ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले आर्थिक वर्ष २०८२-८३ को अन्त्यसम्ममा २ करोड ९१ लाख रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको छ । त्यस्तै, २०८३—८४ मा ४ करोड ८७ लाख रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षको पुससम्म कम्पनीले ६० लाख ३४ हजार नाफा कमाएको छ ।

आयोजनाका तस्बिरहरु

Leave Your Comment

Related News