ऊर्जा क्षेत्रमा गुणात्मक र उल्लेखनीय प्रगति भएको छ: मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको ऊर्जा क्षेत्रको विकासमा उल्लेखनीय र गुणात्मक प्रगति भएको बताएका छन् ।

उनको बिदाइका लागि आज मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले दीर्घकालीन विद्युत् व्यापार सम्झौता र आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् भारत निर्यात गर्ने सहमति आफ्नो कार्यकालको सबैभन्दा महत्वपूर्ण उपलब्धि भएको बताएका हुन् । मन्त्री बस्नेतले ऊर्जा क्षेत्रमा भएको उपलब्धिले मुलुकको समृद्धिका लागि मार्ग प्रशस्त गरेको र त्यसले अर्थतन्त्रलाई समेत सबल बनाउने विश्वास व्यक्त गरे । नेपालको विकास प्रक्रियालाई गति दिने तथा आर्थिक समृद्धिको आधार स्तम्भका रुपमा रहेको ऊर्जा क्षेत्रलाई गति दिने र रोकिएका काम यस अवधिमा सम्पन्न भएकामा खुसी व्यक्त गरे ।

ढल्केबर इनरुवा चार सय केभी प्रसारण लाइन, डेढ दर्जन बढी सबस्टेसन तथा प्रसारण लाइन सम्पन्न भएको जानकारी दिँदै मन्त्री बस्नेतले अन्य केही कार्यक्रम यसबीचमा सम्पन्न भएका बताए । ऊर्जा मिश्रण अवधारणाअनुसार आठ सय मेगावाट क्षमताको सौर्य परियोजना अगाडि बढाइएको र त्यसलाई प्रतिस्पर्धाका आधारमा अगाडि बढाउन लागिएको उनको भनाइ छ ।

राष्ट्रिय गौरवका आयोजनालाई गति दिने, सञ्चालनमा रहेका सिँचाइ आयोजनाको क्षमता विस्तार तथा थप १० लाख हेक्टर क्षेत्रमा सिँचाइ पु¥याउने लक्ष्यका साथ काम अगाडि बढाइएको र त्यसले आगामी केही वर्षमा परिणाम देखिने मन्त्री बस्नेतले उल्लेख गरे । उनले सामूहिक भावनाका साथ काम गर्ने तथा गराउन प्रयत्न गरिएको उल्लेख गर्दै ऊर्जा विकास कार्ययोजना, माथिल्लो अरुण, दूधकोशी जस्ता आयोजना अगाडि बढाउन अन्तिम चरणमा पु¥याइएका बताए । मन्त्री बस्नेतले आगामी दिनमा फरक भूमिकामा रहे पनि आफूले अगाडि बढाएका कामलाई गति दिन साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

सो अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडी र जल तथा ऊर्जा आयोगका सचिव केशवकुमार शर्माले मन्त्री बस्नेतको कार्यकालमा भएका काम कारबाही उल्लेखनीय र रणनीतिक महत्वका रहेका तथा यसले समग्र क्षेत्रको विकासमा महत्व राख्ने बताए ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार