CLI

बुढीगण्डकी आयोजनालाई रास्वपा सरकारले पुनः अघि बढाउनु सकारात्मक कदम : डा.बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम डा.बाबुराम भट्टराईले लामो समयको अन्योल र आशंकापछि बुढीगण्डकी राष्ट्रिय गौरवको आयोजनालाई नवनिर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारले पुनः अघि बढाउन पहल गर्नु सकारात्मक रहेको बताएका छन् ।

लामो समयको अन्योल र आशंकापछि आयोजनाले गति लिन लागेकोमा खुसी व्यक्त गर्दै डा. भट्टराईले यसलाई १२०० मेगावाट विद्युत उत्पादन गर्ने साधनका रूपमा मात्र नभई देशको बहुआयामिक आर्थिक रूपान्तरणको ‘गेम चेन्जर’ परियोजनाका रूपमा बुझ्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै डा. भट्टराईले भनेका छन्, ‘देशको मध्यभागमा र काठमाडौँ, पोखरा तथा भरतपुर जस्ता ठूला सहरहरूको बीचमा रहेको यो परियोजनालाई केवल विद्युत आयोजना मात्र मान्नु हुँदैन । यसले औद्योगिक अर्थतन्त्रतर्फ फड्को मार्न मद्दत गर्नेछ ।’ उनले अमेरिकाको टेनेसी भ्याली र चीनको थ्री गर्जेज ड्याम जस्तै यसलाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।

डा. भट्टराईले यो आयोजनालाई नेपाल विद्युत प्राधिकरण मातहतको एउटा सामान्य ‘कम्पनी’ मार्फत नभई छुट्टै ऐनद्वारा गठित अधिकारसम्पन्न ‘बुढीगण्डकी जलाधार विकास प्राधिकरण’ मार्फत अघि बढाउन सुझाव दिएका छन् । ‘अन्यथा यो पुनः हात्ती आयो, हात्ती आयो फुस्सा हुनसक्छ,’ उनको भनाइ छ।

स्मरण रहोस्, फेवाताल भन्दा १५ गुना ठूलो त्यहाँ बन्ने तालको बहुआयामिक उपयोग, त्यसको वरिपरिका गोरखा,धादिंग र चितवनका ठूला टारहरूमा दर्जनौं नयाँ शहरी वस्तिहरू, तल्लो तटीय क्षेत्रहरुमा थुप्रै नयाँ जलविद्युत आयोजनाहरू, माथिल्लो हिमाली क्षेत्रहरूमा पर्यावरण संरक्षण र आकर्षक पर्यटन केन्द्रहरू, ताल वरपरको रिंगरोडमा पुनर्वास र विविध उद्योग-व्यवसायहरूको स्थापना आदिले नेपालको आर्थिक-सामाजिक रूपान्तरणमा गर्ने योगदान अतुलनीय हुन सक्ने  उनले बताएका छन् ।

यस सन्दर्भमा यो रूपान्तरणकारी परियोजनाको एक प्रमुख पहलकर्ताको नाताले केही अति महत्वपूर्ण पक्षवारे बेलैमा सरकारको गम्भीर ध्यानाकर्षण गराउनु आफ्नो नागरिक दायित्व ठानेको समेत उनले बताएका छन् ।

Leave Your Comment

Related News