काठमाडौं । नेपाल महिला चेम्बर र नेपाल हस्तकला महासङ्घबिच हस्तकला प्रवर्द्धन, महिला उद्यमशीलता सशक्तीकरण तथा सांस्कृतिक सम्पदा संरक्षणका लागि सहकार्य गर्ने उद्देश्यले समौता गरिएको छ ।
सम्झौताअनुसार दुवै संस्थाले नेपाली कला, संस्कृति, हस्तकला तथा अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण, प्रवर्द्धन र अन्तरराष्ट्रियकरणमा संयुक्त रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन् । विशेष गरी महिला उद्यमीलाई सशक्त बनाउने, उनीहरूका उत्पादनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा पुर्याउने र नयाँ पुस्ताका हस्तकलाकर्मीलाई दक्ष बनाउने कार्यक्रम सञ्चालन गरिने सम्झौतापत्रमा उल्लेख छ।
दुवै पक्षबीच प्रदर्शनी, व्यापार मेला, बि(टु(बी कार्यक्रम, सांस्कृतिक आदानप्रदान तथा तालिममार्फत बजार विस्तार गर्ने सहमति भएको छ । साथै उच्चस्तरीय प्रदर्शनी, प्रवर्द्धन परियोजना र तालिमसम्बन्धी सूचनाहरू आदानप्रदान गर्दै सहकार्यलाई थप प्रभावकारी बनाइनेछ।
महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ र महासङ्घका अध्यक्ष रवीन्द्र शाक्यले आज सम्झौतामा हस्ताक्षर गरे। सम्झौतामा दीर्घकालीन साझेदारी विकास गर्दै नेपाल तथा विदेशमा नियमित प्रदर्शनी र ‘रोड(सो’ आयोजना गरी प्रत्यक्ष बजार पहुँच विस्तार गर्ने लक्ष्य पनि राखिएको छ।
सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाल हस्तकलाको क्षेत्रमा विश्वमै अग्रपङ्क्तिमा रहेको उल्लेख गर्दै नेपालको हस्तकला व्यवसाय व्यापारसँगै सिर्जनात्मक शिल्प तथा कला कौशलतासँग पनि जोडिएको बताए।
महिला चेम्बरकी अध्यक्ष श्रेष्ठले यस सहकार्यले नेपाली हस्तकला क्षेत्रलाई अन्तरराष्ट्रियस्तरमा स्थापित गर्न तथा महिला उद्यमीहरूको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको बताइन्। महासङ्घका अध्यक्ष शाक्यले नेपाल महिला चेम्बरसँगको सम्झौताले हस्तकला उद्योगको प्रवर्द्धन र महिला उद्यमशीलता विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।


