CLI

अब १ करोड पर्यटक भित्र्याउने योजना बनाऔँ : सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले नेपालको पर्यटन क्षेत्रको विकासका लागि वार्षिक २०–३० लाख पर्यटक भित्र्याउने लक्ष्यमा मात्र सीमित नभई १ करोड पर्यटक भित्र्याउने बृहत् योजनाका साथ अघि बढ्नुपर्ने बताएका छन्।

नेपाल पर्यटन व्यवसायीहरूको छाता संगठन नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) को ५९औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सभामुख अर्यालले नेपालको पर्यटन उद्योगलाई पुनःउत्थान मात्र नभई तीव्र गतिमा अघि बढाउन ठूलो सपना र स्पष्ट योजना आवश्यक रहेको बताए।

विश्व पर्यटन बजारमा प्रविधिको तीव्र विकास, पर्यटकका बदलिँदा चाहना र बढ्दो प्रतिस्पर्धाअनुसार नेपालले आफूलाई तयार पार्नुपर्ने उनको भनाइ छ।

‘आज विश्व पर्यटन द्रुत गतिमा रूपान्तरण भइरहेको छ। प्रविधिको विकास, पर्यटकका बदलिँदा चाहना र विश्वव्यापी प्रतिस्पर्धाबीच हामीले आफूलाई खरो उतार्नुपर्ने चुनौती छ,’ उनले भने, ‘भूकम्प, महामारी र अन्तर्राष्ट्रिय मन्दीजस्ता आरोह–अवरोह पार गरेको हाम्रो पर्यटन उद्योग अब पुनः उठ्ने मात्र होइन, दौडिने तयारीमा छ।’

पर्यटन क्षेत्रको विकासका लागि पर्यटनमैत्री कानुन, पूर्वाधार विकास र प्रभावकारी अन्तर्राष्ट्रिय बजारीकरणमा राज्यको भरपर्दो साथ आवश्यक रहेको उनले बताए।

विगतका कमजोरीका कारण पर्यटक अन्य गन्तव्यतर्फ आकर्षित भएको उल्लेख गर्दै अर्यालले पर्यटक आगमन बढाउन ट्राभल एजेन्टहरूको भूमिका महत्वपूर्ण हुने बताए। उनले पर्यटन व्यवसायीलाई आन्तरिक द्वन्द्व र व्यक्तिगत स्वार्थ त्यागेर सामूहिक हितमा केन्द्रित हुन आग्रह गरे।

पर्यटन पूर्वाधारको विषयमा उनले व्यवस्थित ‘टुरिस्ट बस पार्क’ निर्माणको आवश्यकतासमेत औँल्याए।

सभामुख अर्यालले भने, ‘हामी २० लाख, ३० लाख पर्यटकको मात्र कुरा नगरौँ, अब १ करोड पर्यटक भित्र्याउने लक्ष्य राखौँ। ठूलो सपना देखे मात्रै ठूलो उपलब्धि हासिल गर्न सकिन्छ। पर्यटक किन घट्न थाले, किन नेपालभन्दा अन्य गन्तव्यतर्फ आकर्षित हुन थाले भन्ने विषयमा विगतका हाम्रा कमी–कमजोरीको समीक्षा गर्दै अघि बढ्नुपर्छ।’

उनले पर्यटन क्षेत्रको दीर्घकालीन विकासका लागि सबै सरोकारवालाबीच एकता र सहकार्य आवश्यक रहेको बताए।

पर्यटन विधेयकलाई समेत सबै सरोकारवालासँग घनिभूत छलफल गरी बलियो र दीर्घकालीन बनाउनुपर्नेमा जोड दिँदै उनले पर्यटन समितिका सभापति, सम्बन्धित मन्त्रालय र सबै स्टेकहोल्डरसँग छलफल गरेर आगामी ५० वर्षलाई मार्गदर्शन गर्न सक्ने उत्कृष्ट पर्यटन विधेयक निर्माणमा सहयोग गर्न आफूहरू तयार रहेको बताए।

Leave Your Comment

Related News