काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले पाँचतारे ¥याडिसन होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै गरिएको टिप्पणीप्रति आपत्ति जनाएको छ। होटलको व्यावसायिक प्रतिष्ठामा असर पर्ने गरी अपूर्ण वा सन्दर्भविहीन सूचना सार्वजनिक गर्नु निजी क्षेत्र तथा समग्र पर्यटन उद्योगका लागि नकारात्मक हुने चेम्बरको भनाइ छ।
हालै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आयल निगमको संयोजकत्वमा भएको अनुगमनका क्रममा होटलमा ग्यासको मौज्दात बढी रहेको पाइएको भन्दै टिप्पणी सार्वजनिक भएको थियो। त्यसप्रति प्रतिक्रिया जनाउँदै चेम्बरले होटलमा दैनिक करिब ५० देखि ६० वटासम्म ग्यास सिलिन्डर खपत हुने जनाएको हो।
चेम्बरका अनुसार दैनिक खपतको तुलनामा होटलमा करिब २०० हाराहारी सिलिन्डर मौज्दात रहनु अस्वाभाविक मान्न मिल्दैन। होटलको सञ्चालनको आकार, भान्साको आवश्यकता र नियमित आपूर्ति व्यवस्थालाई नहेरी मौज्दातको संख्या मात्रका आधारमा अस्वाभाविक वा गैरकानुनी गतिविधिसँग जोडेर निष्कर्ष निकाल्नु उचित नहुने चेम्बरको भनाइ छ।
चेम्बरले कृत्रिम अभाव, अवैध कारोबार तथा कानूनविपरीतका कुनै पनि गतिविधिको समर्थन नगर्ने स्पष्ट पारेको छ। तर वैध रूपमा सञ्चालनमा रहेका व्यवसायलाई हतोत्साहित गर्ने गरी गरिने अतिरञ्जित प्रचारले लगानीको वातावरणमा नकारात्मक असर पार्न सक्ने भन्दै सम्बन्धित पक्षलाई संवेदनशील हुन आग्रह गरेको छ।
होटल तथा पर्यटन व्यवसायसहित अन्य उद्योग–व्यवसायसँग सम्बन्धित आपूर्ति, नियमन वा अन्य समस्या देखिएमा सम्बन्धित निकायले व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थासँग संवाद र समन्वय गरी समाधान खोज्नुपर्नेमा पनि चेम्बरले जोड दिएको छ।
चेम्बरले आवश्यक नियमन कायम राख्दै वैध लगानी र व्यावसायिक सञ्चालनलाई सहजीकरण गर्ने वातावरण निर्माण गर्नुपर्ने बताएको छ। तथ्यमा आधारित सूचना, जिम्मेवार अभिव्यक्ति तथा सरोकारवालाबीचको संवादबाट मात्रै पर्यटन तथा आतिथ्य क्षेत्रको विश्वास, प्रतिष्ठा र दिगो विकास सुनिश्चित गर्न सकिने चेम्बरको धारणा छ।


