CLI

कृषि उद्यम केन्द्रमा सल्लाहकार र सदस्य मनोनित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको कृषि उद्यम केन्द्रमा सहसभापति, सदस्य तथा सल्लाहकार मनोनित भएका छन्। मनोनित पदाधिकारीलाई पत्र हस्तान्तरण गर्दै महासंघले केन्द्रलाई कृषि उद्यम, लगानी, प्रविधि, नवप्रवर्तन र बजारलाई एकीकृत गर्ने प्रभावकारी संस्थाका रूपमा विकास गर्ने लक्ष्य अघि सारेको छ।

मनोनयन पत्र हस्तान्तरण कार्यक्रममा महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले कृषि क्षेत्रलाई मुलुकको आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा विकास गर्न कृषि उद्यम केन्द्रको भूमिका महत्वपूर्ण रहने बताए । किसान, उद्यमी, लगानीकर्ता र बजारबीच समन्वय गर्ने प्रभावकारी संस्थागत संयन्त्रका रूपमा केन्द्रले काम गर्नुपर्ने उल्लेख गर्दै उनले कृषि उत्पादनलाई बजारसँग जोड्न नसक्दा किसानले अपेक्षित लाभ लिन नसकेको बताए ।

उत्पादनसँगै प्रशोधन, मूल्य अभिवृद्धि, बजारीकरण र निर्यातमा निजी क्षेत्रको सहभागिता बढाउनुपर्नेमा जोड दिँदै उनले कृषि क्षेत्रमा लगानी र उद्यमशीलता विस्तारका लागि नीतिगत तथा संस्थागत अवरोध हटाउन महासंघले आवश्यक पैरवी गर्ने प्रतिबद्धता व्यक्त गरे। कृषि उद्यम केन्द्रलाई परिणाममुखी र व्यावसायिक ढंगले अघि बढाउन समितिका सबै सदस्यको सक्रिय सहभागिता आवश्यक रहेको उनको भनाइ थियो ।

महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायीकरणविना मुलुकको दिगो आर्थिक विकास सम्भव नहुने बताए। उनले कृषि उद्यम केन्द्रले किसानको उत्पादन, निजी क्षेत्रको लगानी, आधुनिक प्रविधि र बजारलाई जोड्दै कृषि क्षेत्रमा नयाँ उद्यम र रोजगारी सिर्जनाको वातावरण बनाउनुपर्नेमा जोड दिए।

महासंघका जिल्ला–नगर उपाध्यक्ष कृष्णप्रसाद शर्माले कृषि उद्यम केन्द्रले मुलुकभरका जिल्ला तथा नगर उद्योग वाणिज्य संघसँग समन्वय गरी स्थानीय तहमा कृषि उद्यमको सम्भावना पहिचान तथा प्रवर्द्धन गर्नुपर्ने बताए। स्थानीय उत्पादनलाई बजारसँग जोड्ने, किसान र उद्यमीबीच सहकार्य बढाउने तथा स्थानीय स्रोतसाधनको व्यावसायिक उपयोग गर्न केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने उनको भनाइ थियो।

महासंघका कोषाध्यक्ष मनिषलाल प्रधानले कृषि क्षेत्रमा लगानी विस्तारका लागि वित्तीय पहुँच, लगानी सुरक्षा र अनुकूल व्यावसायिक वातावरण आवश्यक रहेको बताए। कृषि क्षेत्रको सम्भावनालाई व्यावसायिक अवसरमा रूपान्तरण गर्न केन्द्रका कार्यक्रम स्पष्ट लक्ष्य र परिणामका आधारमा सञ्चालन हुनुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा कृषि उद्यम केन्द्रका सभापति शिवप्रसाद घिमिरेले कृषि क्षेत्रलाई परम्परागत निर्वाहमुखी प्रणालीबाट मुक्त गरी व्यावसायिक, प्रतिस्पर्धी र निर्यातमुखी अर्थतन्त्रमा रूपान्तरण गर्नुपर्ने बताए। नेपालको कुल जनसंख्याको करिब आधा हिस्सा कृषि क्षेत्रमा संलग्न रहेको र कुल गार्हस्थ्य उत्पादनमा समेत कृषि क्षेत्रको महत्वपूर्ण योगदान रहेकाले कृषि क्षेत्रको रूपान्तरणविना समग्र आर्थिक समृद्धि सम्भव नहुने उनले बताए।

उत्पादनदेखि प्रशोधन, मूल्य अभिवृद्धि, ब्रान्डिङ, प्याकेजिङ र निर्यातसम्मको पूर्ण मूल्य शृङ्खला विकास गरी किसानलाई बजारसँग र उत्पादनलाई उद्योगसँग जोड्नुपर्नेमा उनले जोड दिए। साथै कृषि–उद्योग समन्वय विस्तार, खाद्य प्रशोधन, कोल्ड चेन, भण्डारण तथा कृषि पूर्वाधारमा निजी लगानी आकर्षित गर्ने, सहुलियतपूर्ण वित्तीय पहुँच विस्तार गर्ने तथा कृषि लगानी सम्मेलनजस्ता पहल अघि बढाउनुपर्ने आवश्यकता औंल्याए।

महासंघका केन्द्रीय कार्यकारिणी समिति सदस्य शिवप्रसाद घिमिरे नेतृत्वको कृषि उद्यम केन्द्रको सहसभापतिमा राजेशभक्त श्रेष्ठ मनोनित भएका छन्। साथै विभिन्न व्यक्तिलाई सदस्य तथा सल्लाहकारका रूपमा मनोनयन पत्र हस्तान्तरण गरिएको छ।

वि.सं. २०४८ मा स्थापना भएको कृषि उद्यम केन्द्रले तीन दशकभन्दा बढी समयदेखि कृषि क्षेत्रमा नीतिगत पैरवी, उद्यमशीलता विकास तथा बजार प्रवर्द्धनमा काम गर्दै आएको छ। नयाँ कार्यसमितिले केन्द्रलाई कृषि उद्यम, लगानी, आधुनिक प्रविधि र अन्तर्राष्ट्रिय बजारबीचको सशक्त सेतुका रूपमा विकास गर्ने लक्ष्य अघि सारेको छ।

Leave Your Comment

Related News