काठमाडौं । नेपाल एलपीजी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेले ग्यास आपूर्ति प्रणालीलाई व्यवस्थित बनाउन तथा सुरक्षा जोखिम न्यूनीकरण गर्न ग्यास सिलिन्डरमा स्थायी ट्रयाकिङ प्रणाली लागू गर्नुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबार बसेको बैठकमा बोल्दै घिमिरेले ग्यास क्षेत्रमा लामो समयदेखि कायम रहेका समस्या समाधानका लागि प्रविधिमैत्री अनुगमन प्रणाली आवश्यक रहेको बताए ।
उनले विगतमा कार्यान्वयनमा ल्याइएको ‘उपभोक्ता कार्ड’ प्रणाली पूर्ण रूपमा असफल भएको स्मरण गर्दै राज्यको लगानी र समय खर्चिए पनि त्यसबाट अपेक्षित परिणाम हासिल हुन नसकेको बताए । अहिलेको अवस्थामा डिजिटल ट्रयाकिङ प्रणाली नै प्रभावकारी विकल्प हुने उनको भनाइ थियो ।
घिमिरेले ग्यास सिलिन्डरको भौतिक अवस्था तथा मर्मतसम्भारमा समेत विशेष ध्यान दिनुपर्ने बताए । नेपालको कठिन भौगोलिक अवस्था र कच्ची सडकका कारण ढुवानीका क्रममा नयाँ सिलिन्डरसमेत कुच्चिने र रङ उप्किने समस्या रहेको उनले जानकारी दिए ।
सिलिन्डरको नियमित हाइड्रो टेस्ट तथा पेन्टिङ गर्नुपर्ने भए पनि पेन्टिङका आधारमा मात्र सिलिन्डर ट्रयाकिङ गर्नु प्रभावकारी नहुने उनको तर्क थियो । उनका अनुसार नयाँ बन्ने सिलिन्डरमा छुट्टै मेटल प्लेट राखेर त्यसमा स्थायी रूपमा कोड पञ्च गर्नुपर्छ ।
‘ट्रयाकिङ प्रणालीले अभावको समयमा मात्र नभई सामान्य अवस्थामा पनि उद्योगी, उपभोक्ता, विक्रेता र राज्यका लागि पारदर्शी तथ्याङ्क उपलब्ध गराउँछ,’ घिमिरेले भने, ‘सिलिन्डरमा पेन्टिङ गरेर मात्र कोड राख्नु दिगो हुँदैन ।’
उनले बजारमा भइरहेको असुरक्षित तथा अवैध ग्यास रिफिलिङप्रति पनि गम्भीर चिन्ता व्यक्त गरे । तराई र काठमाडौंका विभिन्न स्थानमा १४.२ किलोका ठूला सिलिन्डरबाट साना सिलिन्डरमा असुरक्षित रूपमा ग्यास सार्ने काम भइरहेको भन्दै उनले यस्तो गतिविधिले उपभोक्ता ठगिनुका साथै गम्भीर दुर्घटनाको जोखिम बढाएको बताए ।
आधिकारिक ग्यास उद्योगहरूले ५ किलोका सिलिन्डर नभरिरहेको अवस्थामा पनि बजारमा त्यस्ता सिलिन्डर व्यापक रूपमा भेटिनुले सुरक्षा चुनौती थपिएको उनको भनाइ थियो । जनकपुरलगायतका क्षेत्रमा यस्तै असुरक्षित रिफिलिङ तथा ग्यास कारोबारका कारण पटक–पटक विस्फोट र धनजनको क्षति हुने गरेको भन्दै उनले समितिको ध्यानाकर्षण गराए ।
घिमिरेले ग्यास सिलिन्डरको उत्पादनदेखि ढुवानी, बिक्री र उपभोक्तासम्मको सम्पूर्ण आपूर्ति शृंखलालाई प्रविधिमार्फत ट्रयाक गर्न सके ग्यास बजारमा पारदर्शिता बढ्नुका साथै दुर्घटना तथा अवैध कारोबार नियन्त्रणमा समेत सहयोग पुग्ने बताए ।



