काठमाडौं । एनएमबि बैंकको अगुवाइमा कालीकोट जिल्लामा निर्माण हुन लागेको ४४० मेगावाट क्षमताको तिला–१ जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ ।
तिला खोलामा एससी पावर कम्पनी प्रालिले निर्माण गर्न लागेको आयोजनाको कुल अनुमानित लागत ५९ अर्ब ४० करोड रुपैयाँ रहेको छ । उक्त लागतको ४४ अर्ब ५५ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी हुने भएको छ ।
वित्तीय व्यवस्थापनमा एनएमबि बैंक अगुवा बैंकका रूपमा रहेको छ भने ग्लोबल आइएमई बैंक, हिमालयन बैंक र प्रभु बैंक सह–अगुवा बैंकका रूपमा रहेका छन् । अन्य विभिन्न बैंक तथा वित्तीय संस्थाहरू पनि आयोजनामा सहभागी हुनेछन् ।
आयोजनाको नेतृत्व सुसन कर्माचार्य तथा उनको समूहले गरिरहेको छ । उत्पादन अनुमतिपत्रअनुसार तिला–१ जलविद्युत् आयोजनाको जडित क्षमता ४४० मेगावाट रहेको छ । विद्युत् खरिद सम्झौता (पीपीए) अनुसार आयोजनाले २०८७ पुस १५ गतेदेखि व्यावसायिक उत्पादन सुरु गर्नुपर्नेछ ।
वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा एनएमबि बैंकका सहायक महाप्रबन्धक दिनेश दुलाल र एससी पावर कम्पनीका अध्यक्ष सुसन कर्माचार्यले हस्ताक्षर गरेका छन् ।
निजी क्षेत्रको लगानी तथा नेतृत्वमा अघि बढाइएको तिला–१ आयोजना जडित क्षमताका आधारमा अहिलेसम्मकै ठूलो निजी क्षेत्रको जलविद्युत् आयोजना भएको कम्पनीले जनाएको छ ।
आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि पहिलो वर्षमा करिब ११ अर्ब ४० करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । आयोजना निर्माणले निजी क्षेत्रको ठूलो जलविद्युत् परियोजनामा लगानी विस्तारसँगै कालीकोटको ऊर्जा पूर्वाधार विकासमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।



