त्रिशूली थ्री बी हब २२० केभी सबस्टेसन उद्घाटन

काठमाडौं । चिलिमे–त्रिशूली २२० केभी प्रसारण प्रणाली आयोजनाअन्तर्गत त्रिशूली थ्री बी हब २२०–१३२–३३ केभी सबस्टेसन सञ्चालनमा आएको छ । नुवाकोटको किस्पाङ गाउँपालिकास्थित पहिरेबेंसीमा निर्माण गरिएको सबस्टेसन सञ्चालनमा आएको हो ।

आयोजनाको सामाजिक उत्तरदायित्वअन्तर्गत छिमेकी विद्युतीकरण कार्यक्रमका लागि किस्पाङ गाउँपालिकाको भाल्चेमा निर्माण गरिएको ३३–११ केभी विद्युत् वितरण सबस्टेसन समेत शुक्रबार नै उद्घाटन गरिएको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र युरोपेली आयोगकी अन्तर्राष्ट्रिय साझेदारी उपमहानिर्देशक मिरियम फेरन, युरोपेली युनियनकी राजदूत भेरोनिक लोरेञ्जो, जर्मन राजदूत थोमस प्रिन्ज र युरोपेली लगानी बैंककी निर्देशक थौउराया ट्रिकीले संयुक्त रुपमा त्रिशूली थ्री बी हब र भाल्चे सबस्टेसन उद्घाटन गरेका हुन् ।

करिब १०४ रोपनी जग्गामा निर्माण गरिएको त्रिशूली थ्री बी हब सबस्टेसनको लागत १ अर्ब ९७ करोड रुपैयाँ रहेको छ । त्रिशूली–काठमाडौं २२० केभी प्रसारण लाइनबाट त्रिशूली थ्री बी हब सबस्टेसन मातातीर्थ सबस्टेसनसँग जोडिएको छ ।

भाल्चे सबस्टेसन तथा त्रिशूली थ्री बी हब–भाल्चे ३३ केभी प्रसारण लाइनसहित छिमेकी विद्युतीकरण कार्यक्रमको लागत ४२ करोड ९३ लाख रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ । उक्त सबस्टेसनबाट नुवाकोट र रसुवाका २ हजारभन्दा बढी घरधुरी लाभान्वित भएका छन् ।

६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ए, २१६ मेगावाटको माथिल्लो त्रिशूली–१, १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन, तादी खोलाका विभिन्न आयोजनाहरूको ४२ मेगावाट विद्युत, ३७ मेगावाटको माथिल्लो त्रिशूली थ्री बी, १४.८ मेगावाट माथिल्लो सान्जेन, १४.३ मेगावाटको माथिल्लो मैलुङलगायतका जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् यही प्रसारण लाइन तथा सबस्टेसनमार्फत राष्ट्रिय प्रणालीमा जोडिनेछ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार