CLI
Global College

राजनीतिक अस्थिरताबीच लिबियाको तेल उत्पादनमा सुधार

त्रिपोली। लिबियाको कच्चा तेल उत्पादन बढेर दैनिक करिब १४ लाख ३० हजार ब्यारेल पुगेको छ, जुन पछिल्लो एक दशकयताकै उच्च स्तर भएको जनाएको छ । राष्ट्रिय तेल निगमका प्रमुख मसूद सुलेमानका अनुसार उत्पादनमा आएको यो वृद्धि देशको ऊर्जा क्षेत्रमा महत्वपूर्ण उपलब्धि मानिएको छ ।

उनले हालै सम्पन्न एक बैठकमा जानकारी दिँदै फेब्रुअरी महिनामा तेल बिक्रीबाट प्राप्त आम्दानी २ अर्ब अमेरिकी डलरभन्दा बढी रहेको र उक्त रकम कुनै कटौती बिना पूर्ण रूपमा सरकारी कोषमा जम्मा गरिएको बताए, जुन पछिल्ला केही वर्षमा पहिलो पटक भएको उल्लेख गरिएको छ ।

यसले देशको आर्थिक पारदर्शिता र व्यवस्थापन सुधारतर्फ संकेत गरेको छ । सुलेमानका अनुसार विश्वव्यापी संकटहरूका बाबजुद देशभित्र इन्धन आपूर्ति स्थिर रहेको छ । साथै अल–शरारा तेल क्षेत्र को निर्यात पाइपलाइनमा गरिएको मर्मत कार्य सम्पन्न भइसकेको र उत्पादन पुनः सामान्य अवस्थामा फर्किएको छ ।

यो तेल क्षेत्र लिबियाको सबैभन्दा ठूलो हो, जुन राजधानी त्रिपोलीबाट करिब ९०० किलोमिटर दक्षिणमा अवस्थित छ र दैनिक ३ लाख ब्यारेलभन्दा बढी उत्पादन क्षमता राख्छ । उनले थप स्पष्ट पार्दै तेल उत्पादनलाई स्थिर राख्न र अझ बढाउन विद्युत् आपूर्ति प्रणालीको स्थिरता तथा उत्पादन दक्षता सुधार अत्यावश्यक रहेको बताए ।

लिबियाको अर्थतन्त्र मुख्य रूपमा तेल र ग्यास निर्यातमा निर्भर रहेको छ, तर द्वन्द्व र राजनीतिक अस्थिरताका कारण विगतमा बारम्बार उत्पादन र आपूर्तिमा अवरोध हुँदै आएको थियो । हालको उत्पादन वृद्धि लिबियाको आर्थिक पुनरुत्थान र ऊर्जा क्षेत्रको स्थायित्वतर्फको सकारात्मक सङ्केतका रूपमा हेरिएको छ ।

Leave Your Comment

Related News