काठमाडौं । हुलाकी राजमार्ग अन्तर्गत दाङ खण्डको सडक निर्माण अलपत्र पारेको भन्दै सम्बन्धित निर्माण कम्पनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ। हुलाकी राजमार्ग योजना निर्देशनालयको नेपालगन्जस्थित कार्यालयले निर्माण व्यवसायी वज्रगुरु कान्छाराम जेभी ललितपुरलाई सात दिनको म्यादसहित स्पष्टीकरण पेश गर्न सूचना जारी गरेको छ।
निर्देशनालयका प्रमुख लीलाबहादुर भण्डारीका अनुसार म्यादभित्र जवाफ नआए ठेक्का रद्द गरी नयाँ निर्माण कम्पनीमार्फत सडक निर्माण अघि बढाइनेछ। “निर्माण व्यवसायीको चरम लापरवाहीले सडक अलपत्र परेको छ,” प्रमुख भण्डारीले भने, “सम्पर्कमा नआए कानूनी प्रक्रिया अनुसार ठेक्का रद्द गरी नयाँ ठेकेदारमार्फत काम अघि बढाउने तयारी छ।”
दाङको गढवा–कालाकाटे खण्डअन्तर्गत वनघुस्रीदेखि गढवासम्मको करिब २० किलोमिटर सडक निर्माणका लागि २०७६ कात्तिक २९ गते ६७ करोड रुपैयाँ लागतमा सम्झौता गरिएको थियो। तीन वर्षभित्र कालोपत्रे सक्ने लक्ष्य लिएको निर्माण कम्पनीले निर्धारित समयमा काम नसक्दा दुईपटक म्याद थप गरिएको थियो। तर, अझै पनि करिब ४० प्रतिशत मात्रै काम सम्पन्न भएको छ।
कार्यालयका अनुसार हालसम्म करिब ६ किलोमिटर मात्र कालोपत्रे गरिएको छ भने करिब ९ किलोमिटरमा पहिलो चरणको बेस लेयरको काम भएको छ। म्याद थपपछि २०७९ मङ्सिरमा काम थालिएको भए पनि डेढ किलोमिटर मात्रै कालोपत्रे गरेर कम्पनीले पुनः काम रोकेको हो।
यसैबीच, सोही ठेक्काअन्तर्गत गढवा–राजपुर खण्डको करिब २१ किलोमिटर सडक भने एपेक्स कनकाई खड्का कृष्ण प्रालिले सफलतापूर्वक सम्पन्न गरेको छ। २०७६ मङ्सिर १ गते ६९ करोड रुपैयाँमा ठेक्का पाएको उक्त कम्पनीले २०७९ मा काम नसकिएपछि एक वर्ष म्याद थप गरी २०८० सालभित्र निर्माण सम्पन्न गरेको थियो।
प्रमुख भण्डारीका अनुसार दाङ खण्डमा पुल निर्माण कार्य भने सन्तोषजनक रूपमा अघि बढेको छ। तर, सडक निर्माणमा अपेक्षित प्रगति नहुँदा सेवा प्रवाहमा असर पुगेको र स्थानीय जनतामा व्यापक असन्तुष्टि देखिएको छ।